वेबटिभी खबर
पर्सा । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व संकलनमा देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति पछि राजश्व संकलन बढेको हो ।
उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा संकलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख राजश्व संकलन भएकोमा चालु आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजश्व संकलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । यो गत आवको संकलित राजश्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।
चालु आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख राजश्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्यभन्दा ४.३ प्रतिशत बढी अर्थात् ५ अर्ब एक करोड ७८ लाख बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।
सवारी साधनको आयातबाट संकलित राजश्वमा २३.२१ प्रतिशत र इन्धनको आयातमा ३७.९१ प्रतिशत बढी राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij