Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

म्याग्दीमा दुई चिस्यान केन्द्र बनाइने

म्याग्दीमा दुई चिस्यान केन्द्र बनाइने

  • 587
    SHARES
  • म्याग्दीमा दुई चिस्यान केन्द्र बनाइने

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुईवटा चिस्यान केन्द्र (कोल्डस्टोर) बनाइने भएको छ । गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा खाद्यान्न, तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने गरी कोल्डस्टोर बनाउन लागेको हो ।

    गाउँपालिकाको ‘एक गाउँ, एक उत्पादन’ अभियानअन्तर्गत भगवतीमा संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी १ करोड लागतमा कोल्डस्टोर निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले जानकारी दिए ।

    कोल्डस्टोरका लागि प्राविधिक टोलीले वडा कार्यालय नजिक एक रोपनी जग्गा व्यवस्थापन भएपछि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)पछि बोलपत्र प्रक्रियामा जाने प्रमुख भण्डारीले बताए ।

    ‘यहाँ उत्पादन भएको कृषि उपजलाई भण्डारण गरी सिधै बजारमा लैजान सकिन्छ, कृषकका हरेक प्रकारका उत्पादनलाई कोल्डस्टोरमा राख्ने योजनासहित चिस्यान केन्द्रको निर्माण गर्न लागिएको हो’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

    सुन्तला, केरा र आलुको उत्पादन हुने पिप्ले, भगवती, बेगखोलाकाले धेरै प्रयोग गरेपनि भगवतीको ठूलो भएकाले त्यहाँ गाउँपालिकाका सबै वडाका कृषकको उत्पादनलाई राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । त्यस्तै पाखापानीमा संघीय र गाउँपालिकाको सहित २२ लाख लागतमा एक वर्षभित्र सम्पन्न गर्ने गरी पोट्रेवल कोल्ड च्याम्बर बनाउन आवश्यक तयारी गरिएको छ ।

    भौगोलिकररुपमा विकट र अपायक पर्ने भएकाले झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गले क्षेत्रका कृषकलाई लक्ष्य गरी पाखापानीमा बनाउन लागिएको कोल्ड च्याम्बर एक वर्ष भित्रमा निर्माण गरिने वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । दुवै स्थानमा निर्माण हुने कोल्डस्टोरको डिजाइन स्टिमेटको काम अगाडि बढेकाले अगुवा कृषकसमेत उत्साहित भएका छन् ।

    सिजनमा उत्पादन गरेर बिक्रीको तुलनामा बेमौसममा कोल्डस्टोरमा राखेर बिक्री गर्दा चार गुणाभन्दा बढी फाइदा हुन्छ । गाउँपालिकाले कृषकको उत्पादन भएको स्थानबाट कोल्डस्टोरसम्म ढुवानी तथा स्टोर सञ्चालनमा सहज हुने गरी कोषसमेत बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij