Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेपालमा कोरोनाको दोस्रो अध्याय सुरु, सजग रहन विज्ञको सुझाव 

नेपालमा कोरोनाको दोस्रो अध्याय सुरु, सजग रहन विज्ञको सुझाव 

  • 1.0K
    SHARES
  • नेपालमा कोरोनाको दोस्रो अध्याय सुरु, सजग रहन विज्ञको सुझाव 

    काठमाडौं । एकवर्ष पहिले चीनबाट सुरु भएको कोरोना भाइरसको पहिलो चरणले विश्व आक्रान्त पार्यो । विश्वभर केही मथ्थर भएजस्तो गरको यो भाइरसले अहिले रूप परिवर्तन गरेर विश्वलाई नै थप चुनौती दिएको छ । 

    images

    अहिले कोरोनाको दोस्रो लहरबाट भारत, श्रीलंका, बंगलादेश पाकिस्तानका साथै अन्य देशहरू नराम्रोसँग प्रभावित भइरहेका छन् । सीमा जोडिएको छिमेकी मुलुकमा कोरोनाको दोस्रो लहर चलिरहँदा त्यसको प्रभाव नेपालमा पनि पर्ने संभावना देखिएको छ ।

    छिमेकी मुलुक भारतमा दिनहुँ कोरोना संक्रमित बढेका छन् । गत वर्ष कोरोना भाइरस उत्कर्षमा हुँदा गत सेप्टेम्बरमा भारतमा एकैदिन सबैभन्दा बढी ९७ हजार आठ सयजना संक्रमित भएका थिए ।

    त्यसयता दैनिक संक्रमित भेटिने क्रम घटेको थियो । अहिले फेरि भारतमा यो भाइरसले डरलाग्दो रूप लिइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा महामारी सुरु भएयता एकैदिनमा धेरै जनामा कोरोना संक्रमण भएको यो अहिलेसम्मकै उच्च हो । 

    भारतमा कोरोना संक्रमण दर उच्च भएसँगै नेपालमा पनि जोखिम बढेको छ । खुल्ला नाका भएका कारण भारतमा रहेका नेपालीहरू अहिले स्वदेश फर्किरहेका छन् । जसले गर्दा नेपाल पनि कोरोनाको दोस्रो लहरको चपेटामा आउन सक्ने भएकाले सचेत र सजग रहन विज्ञहरूले आम सर्वसाधारलाई आग्रह गर्दै आइरहेका छन् । भारतमा संक्रमित बढेसँगै नेपालमा पनि काेराेना संक्रमितकाे संख्यामा वृद्धि भएकाे छ ।  

    नेपालमा पनि संक्रमित बढे 

    नेपालमा विगत १० दिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले अहिले संक्रमित भएर अस्पताल भर्ना हुनेमा सिकिस्त बिरामी बढी छन् । सिकिस्त बिरामीमध्ये आधाजसो ५० वर्ष मुनिका छन् । जुन अघिल्लो तीन महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो । 

    उनकाअनुसार यसको अर्थ, समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने हुन्छ । यी संकेतहरूले समुदायमा कोरोना भाइरसको दोस्रो छाल व्यवस्थित भइसकेको पुष्टि गर्ने उनले बताए ।

    टेकु अस्पतालको आइसियुमा भर्ना हुने बिरामीको संख्या दिनानुदिन बढ्दो छ । पछिल्ला केही हप्ता संक्रमितको मृत्यु भएको छैन, तर सिकिस्त बिरामीको चाप यही गतिमा बढ्ने हो भने २-३ हप्ताभित्र मृत्युदर बढ्ने आकलन गर्न सकिने डा. बास्तोलाको भनाइ छ ।

    युके भेरियेन्ट समुदायमा फैलिएको आशंका 

    समुदायमा नयाँ भेरियन्ट फैलिएको आशंका रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।

    डा.पुनकाअनुसार पछिल्ला दिनमा गरिएका परीक्षणमा ‘एस जिन टार्गेट फेलियर’ (एस जिन नेगेटिभ वा देखिएन)  भने युके भेरियन्टको आशंका गर्न सकिन्छ । एस जिन देखिएन भने युके भेरियन्ट हुन सक्ने सम्भावना बढी हुन्छ । 

    डा. पुनले भने, ‘विश्वभरीको तथ्यांक तथा विवरणलाई अध्ययन गर्दा युके भेरियन्ट सुरुको कोरोना भाइरसभन्दा घातक र अत्यधिक छिटो फैलिने भाइरसका रूपमा बुझ्छौं । परिवर्तित कोरोना भाइरसले युवा तथा बालबालिकालाई पनि बढी प्रभाव पार्ने देखिएको छ । बालिबालिका अस्पताल भर्ना भइ मृत्यु भएको तुलनात्मक रूपमा सुनिएको छैन । तर संक्रमण गराउन सक्छ भन्ने हो ।’

    बालबालिकालाई कति प्रभाव पार्छ भन्ने कुरा अस्पताल भर्ना हुने दरमा भर पर्छ । कोरोना भाइरस संक्रमण बालबालिकामा पहिले पनि थियो र अहिले पनि संक्रमण भइरहेको उनको तर्क छ । कोरोना परीक्षण गर्दा एउटा जिन मिसिङ भइरहेको छ । त्यस कारण कोरोना परिवर्तित भएको मान्न सकिन्छ । आगामी दिनमा यस बारेमा प्रष्ट खाका तयार हुनेमा उनी विश्वस्त छन् । 

    पहिलो चरण र अहिले फैलिरहेका कोरोना भाइरसका लक्षण उस्तै

    अहिले फैलिएको कोरोना भाइरसको लक्षण पनि पुरानैको जस्तो हुन्छ । तर विभिन्न जानकारीहरूबाट युके भेरियन्ट कडा भएको डा. पुन बताउँछन् । ‘गत वर्ष कोरोना संक्रमण रोकथाम गर्न नागरिक तथा सरकारको तर्फबाट जुन स्तरको कोशिस भयो, त्योभन्दा अझ बढी यो पटक मेहनत गर्नुपर्ने देखिएको छ,’ डा.पुनले भने, ‘किनभने कोरोना भाइरस हामीभन्दा एक स्टेप अगाडि बढेर चुनौती दिइरहेको छ । त्यसैले हामी सबै समयमै सजग हुनु आवश्यक छ ।’ 

    कोरोना संक्रमणमुक्त भएका व्यक्तिलाई पुनः संक्रमणकाे जोखिम 

    एकपटक कोरोना संक्रमण मुक्त भइसकेपछि पुनः संक्रमित हुने जोखिम कति छ ? भनेर धेरैले चासो व्यक्त गर्ने गरेको डा.पुन बताउँ छन् । ‘अहिलेको लागि यो जल्दोबल्दो प्रश्न हो । संक्रमण हुँदै नभएको त होइन तर, त्यस्तो व्यापक रूपमा देखिएको छैन । पछि भाइरसमा थप परिवर्तन हुँदै जाँदा एण्टिबडीले त्यो खालको क्षमता विकास गर्छ कि गदैन भन्ने हाम्रो लागि चुनौतीको विषय छ ।’ यो सँगसँगै भ्याक्सिन लगाएर उत्पन्न भएको जुन एन्टिबडी छ त्यसलाई पनि छल्ने हो कि भन्ने कुरालाई पनि नजिकबाट नियाल्नु जरुरी रहेको उनको भनाइ छ ।  

    पूर्ण खोप लगाएका व्यक्तिमा परिवर्तित जोखिम 

    डा. पुनले खोप लगाएका व्यक्तिमा पनि परिवर्तित कोरोनाले पुनः संक्रमण गराउन सक्ने बताए । उनकाअनुसार खोप शतप्रतिशत प्रभावकारी होइन । त्यसकारणले गर्दा सबै व्यक्तिलाई खोपले सुरक्षित गर्छ भन्ने छैन । कतिपय केशमा एन्टिबडी नै बनेको छैन भन्ने कुरा आएको छ । खोपको पूर्ण लोड (खोपको पूर्ण डोज) लगाएको १४ दिनपछि पनि संक्रमण भएको अमेरिकालगायत अन्य स्थानबाट जानकारी आइरहेको उनले बताए । अमेरिकाले ९५ प्रतिशत प्रभावकारी भनिएको फाइजरको खोप लगाएको थियो । यद्यपि संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने विकल्प भनेको भ्याक्सिन नै हो ।

    परिवर्तित कोरोना भाइरसबाट कसरी जोगिने ?

    भाइरसबाट जोगिन मास्कको प्रयोग, दुरी कायम गर्ने, भिडभाड नगर्ने, हावा आरपार नहुने कोठामा नबस्ने, धेरै जना एउटै कोठामा बस्न नहुने उपायलाई अवलम्बन गर्न विज्ञले सुझाव दिएका छन् । 

    सरकारको तर्फबाट पनि ठाउँ-ठाउँमा परीक्षणको दायरा बढाउने, संक्रमण पत्ता लगाउने, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने, आइसोलेसनलाई व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेको पुनले बताए । यसका साथै बिरामीलाई यातायातको सुविधा दिने लगायतका कार्य गर्न जरुरी हुन्छ ।

    ‘हामीले कोरोनाको पहिलो चरणमा रोकथाका लागि जुन कार्य गरेका थियो यो पटक पनि गर्नुपर्ने त्यही नै हो,’ उनले भने, ‘फरक यति हो, हामी छिटोभन्दा छिटो जिम्मेवार भएर अगाडी बढ्नुपर्छ । नत्र पछि गएर ढिलो हुन सक्छ ।’ विगतमा भएका कमीकमजोरीलाई समिक्षा गरेर जनस्वास्थ्यका मापदण्ड अवलम्वन गरेर अगाडी बढ्नु पर्ने उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology