Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

स्थानीय निर्वाचन तयारी तीव्र

स्थानीय निर्वाचन तयारी तीव्र

  • 792
    SHARES
  • स्थानीय  निर्वाचन  तयारी तीव्र

    तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको हो ।

    निर्वाचन घोषणा भएसँगै मतदाता नामावली संकलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । कार्यालयले २ लाख ४८ हजार ४९३ जनाको नामावली निर्वाचन आयोगमा पठाएको छ । ती मध्ये १ लाख २८ हजार ५४२ महिला र १ लाख १९ हजार ९५१ पुरुष छन् ।

    ‘मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएका छौं, आयोगबाट अद्यावधिक भएर आएपछि अन्तिम नामावली प्रकाशित गर्छौं,’ उनले भने । उनका अनुसार विगत एक वर्षको अवधिमा जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । सर्वसाधारणको सहजताका लागि प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो ।

    नागरिकता वितरण लगत्तै प्रशासन कार्यालयबाटै मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्थाले सर्वसाधारणलाई सहज भएको थियो । कार्यालयले यही फागुन १९ गतेभित्र १० वटै स्थानीय तहमा मतदाता नामावली पठाउने तयारी गरेको छ । यसपछि दाबी विरोधको कामलाई अगाडि बढाइनेछ ।

    विवरण सच्याउन, दाबी विरोध गर्न, नामावली हटाउने काम फागुन १९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गर्ने कार्यालयको तयारी छ । स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा १ लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा २ लाख ११ हजार ४४६ मतदाता रहेका थिए ।

    मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयले पुनः मतदाता परिचयपत्र दिने भएको छ । कुनै पनि मतदाता मतदान कार्यबाट वञ्चित नहुन भन्नका लागि कार्यालयले यस्तो व्यवस्था गर्न लागेको हो ।

    निर्वाचन अधिकारी ढकालले यसअघि कार्यालयबाट मतदाता परिचयपत्र दिएका तर हाल सो परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचयपत्र लिन सकिने बताए । त्यस्ता मतदाताले आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा पेस गर्नुपर्ने उनले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij