Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सभामुख हटाउन कांग्रेस–एमाले सहमत

सभामुख हटाउन कांग्रेस–एमाले सहमत

  • 535
    SHARES
  • सभामुख हटाउन कांग्रेस–एमाले सहमत

    काठमाडौं । सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत भएका छन् । तर, केही दिन सभामुख सापकोटाको भूमिका हेर्ने कांग्रेसले जनाएको छ ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) प्रतिनिधिसभा बैठकमा छलफल गराउँदै अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनभित्र मतभेद देखिएपछि सभामुख सापकोटामाथि महाअभियोगको सम्भावना बढेको हो ।

    कारबाहीमा परेका आफ्ना १४ सांसदलाई पदमुक्त नगरेर पदीय जिम्मेवारी र आचरणविपरीत काम गरेको भन्दै सभामुखलाई हटाउनुपर्ने माग गर्दै आएको एमालेले कांग्रेस र माओवादी केन्द्रसमक्ष सभामुखलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।

    एमालेको प्रस्तावमा कांग्रेस सहमत भए पनि माओवादीले असहमति जनाएको छ । कांग्रेसले भने केही दिन सभामुख सापकोटाको भूमिका हेरेर निर्णयमा पुग्ने जवाफ एमालेलाई दिएको छ । 

    बिहीबार कांग्रेसका शीर्ष नेताहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले कारबाही गरिएका माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउनुपर्ने वा सभामुख सापकोटालाई महाअभियोग लगाउने प्रस्ताव गरेका थिए ।

    सापकोटाले एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्तावलाई ध्वनि मतको आधारमा वा मतदानमार्फत कुन बाटो लैजान्छन् भन्ने हेरेर महाअभियोगको निर्णयमा पुग्ने कांग्रेसको तयारी छ ।

    मतदानमा लगेर एमसीसी असफल बनाए सभामुख सापकोटालाई महाअभियोग लगाउन कांग्रेस पनि तयार छ । सभामुख सापकोटाले एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्तावलाई मतदानमा लैजाने बताएपछि बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।

    सैद्धान्तिक छलफल अनुमतिका लागि मतदानमा लगिएको नेपालको संसदीय इतिहासमा नरहेको र सभामुखले लैजान नहुने कांग्रेस नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानबहादुर कार्कीले बताए ।

    एमसीसीमाथिको सैद्धान्तिक छलफलको अनुमतिका लागि मतदानमा नलैजान सभामुख सापकोटालाई मन्त्री कार्कीले आग्रह गरेका छन् । कांग्रेससँग १४ जना सांसद हटाउन वा सभामुखलाई महाअभियोग लगाउन प्रस्ताव गरेको एमालेले माओवादीसँग पनि सोही प्रस्ताव गरेको छ ।

    बिहीबार संसद भवनमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तामा दुवै दलका अन्य नेता पनि सहभागी थिए । सो क्रममा अध्यक्ष ओलीले सभामुख सापकोटालाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरे । तर, अध्यक्ष प्रचण्डले अस्वीकार गरे ।

    ‘छलफलमा एमालेले सभामुख हटाउनुपर्‍यो भनेर अडान लियो । तर, माओवादीले मानेन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने । सभामुख हटाउन कांग्रेस र एमाले सहमत भए पनि माओवादीले असहमति जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij