Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

महाशिवरात्रिलाई लक्षित गरी बजार अनुगमन

महाशिवरात्रिलाई लक्षित गरी बजार अनुगमन

  • 471
    SHARES
  • महाशिवरात्रिलाई लक्षित गरी बजार अनुगमन

    काठमाडौं । बैतडी जिल्लामा महाशिवरात्रि पर्वलाई  लक्षित गर्दै बजार अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला संयुक्तरुपमा नियमित अनुगमन गर्दै आएको छ । यसअघि दसैँतिहारका बेलामा पनि अनुगमन गरिएको थियो ।

    महाशिवरात्रिको मेला लाग्ने क्षेत्रलाई प्राथमिकता दिएर अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । पहिलो चरणमा जिल्लाको डिलासैनी गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको छ ।

    उक्त गाउँपालिकाको  गोकुलेश्वर क्षेत्रमा महाशिवरात्रिका अवसरमा मेला लाग्ने भएकाले  बजार अनुगमन गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ  ।

    अनुगमनका क्रममा अखाद्य सामग्री राखेर बिक्रीवितरण गरिरहेका आठ पसलेमध्ये चारजनालाई १० हजार रूपैयाँका दरले र चार जनालाई  पाँच हजार रूपैयाँका दरले जरिवाना गरिनाका साथै  २३ हजार ९१५ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको थियो ।

    यसैगरी  मूल्यसूची नराखेका पसलेलाई मूल्यसूची राख्न पनि आग्रह गरिएको थियो । चाडपर्वका बेला कालोबजारी हुने र म्याद नाघेका सामग्री बढी बिक्रीवितरण हुने भएकाले बजार अनुगम थालिएको सूचना अधिकारी भारतीले बताए ।

    उनले भने,‘हामीले नियमित रुपमा बजार अनुगमन गर्ने गरेका छौँ, अहिले महाशिवरात्रिलाई लक्षित गरेर अनुगमन थालेका हौँ ।’ समयभन्दा चाडपर्वका बेला कालोबजारी र म्याद नाघेका सामग्री बिक्री हुने सम्भावना हुने भएकाले  अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको उनले बताए ।

    अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई  उपभोग्यवस्तुको मिति र लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीनकुमार अधिकारीले बताए ।

    यसअघि गौरा पर्व र दसैँतिहारका बेला गरिएको अनुगमनमा जिल्ला प्रशासनले दुई लाख ५० हजार बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij