वेबटिभी खबर
पर्वत । पर्वतको कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जन मूलक पूर्वाधार निर्माणको कार्यक्रम सुरु गरिने भएको छ ।
नगरपालिकाको आवश्यकता अनुसारको विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न तथा आयआर्जन सम्बन्धी पूर्वाधारमूलक कार्यक्रम सञ्चालनका लागि सघन सहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।
सघन सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीबीच कार्यविधिमा शुक्रबार हस्ताक्षर भएको छ । नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाभित्रका सबै वडाका कच्ची सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको बताए ।
यस्तै नाली निर्माण देखि आयआर्जन मूलक उद्यम विकासमा पनि कार्यक्रमले सहयोग गर्ने उनले जानकारी दिए । सबै वडामा एउटा-एउटा योजना पर्ने गरी कार्यक्रम तर्जुमा गरिने जोशीले जानकारी दिएका हुन् ।
केही योजना संकलनको काम भइरहेकाले नगरपालिकाले विस्तृत योजना बनाए पछि योजनाको विस्तृत अध्ययन हुने र त्यस पछि कामको सुरुआत हुने नगरप्रमुख जोशीले बताए । नगरउपप्रमुख सीता काफ्ले लामिछानेले सहरोन्मुख कुश्मामा आवश्यकताका आधारमा योजना छनोट गरी कार्यक्रम सञ्चालन गरिने बताइन् ।
आफूहरु निर्वाचित भएपछि नगरपालिकाको समग्र विकासमा ध्यान दिंदादिंदै बजेटको अभावमा कतिपय योजना अधुरा रहेको अवस्थामा यो कार्यक्रमले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्ने उनले उल्लेख गरेकी छिन् ।
कुश्मा नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि ५० करोड बराबरको आर्थिक सहयोग प्राप्त हुने भएको छ । चालु वर्ष योजना सुरु भएपनि अधिकांश योजना बहुवर्षे कार्यक्रममा समावेश हुने जनाइएको छ । कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे शुक्रबार नगरपालिकामा छलफल भएको थियो ।
यसैबीच कुश्मामा बसपार्क निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङ मार्फत योजना अगाडि बढाउन नगरपालिकाले सिफारिस गरेको छ ।
सिटीहल सहितको बसपार्क निर्माण गर्ने गुरुयोजना भएपनि चालु वर्ष १० करोड मात्र बजेट प्राप्त भएकाले उक्त बजेटमार्फत कामको सुरुआत गर्न कार्यालयलाई नगरपालिकाले सिफारिस गरेको हो ।
सिटीहल सहित बसपार्क निर्माण गर्न ७५ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । बहुवर्षे योजनामा समावेश भएको सिटीहल सहित बसपार्क निर्माण गर्ने भन्दै कुश्मा नगरपालिकाले गौरवको योजनाको रुपमा अगाडि सारेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij