वेबटिभी खबर
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको छ । पशुपतिनाथको पूजा दर्शन गर्न बिहानदेखि स्वदेशी तथा विदेशी भक्तजनको ठूलो भीड लागेको छ ।
दर्शनार्थीका लागि बिहान ३ बजेदेखि मन्दिरको चारैवटा ढोका खुला गरिएको छ ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ ।
१० लाखले पशुपति दर्शन गर्ने आँकलन, यस्तो छ व्यवस्थापन
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाका अनुसार महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन् । एकैदिन १० लाखले पशुपति दर्शन गर्ने आँकलन गरिएको छ ।
दर्शन गर्न रुट मिलाइएको छ । जसअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।
ट्राफिक व्यवस्थापन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा आज उपत्यकामा विशेष ट्राफिक व्यवस्थापन गरेको छ । ‘महाशिवरात्रि पर्व-विशेष ट्राफिक व्यवस्थापन योजना’ अनुसार विशेषगरी पशुपति क्षेत्रमा ट्राफिक व्यवस्था मिलाइएको महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले जानकारी दिए ।
महाशिवरात्रिमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उनका अनुसार गौशाला क्षेत्र आसपास छुट्टाछुट्टै स्थानमा पार्किङ स्थान तोकिएको छ । मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवगमन निषेधगरी बैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।
सवारीसाधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij