वेबटिभी खबर
चितवन । गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अंगमा हुने क्यान्सरको उपचारमा ५० हजार सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग यससम्बन्धी सम्झौता गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री प्रजनन अंगसँग सम्बन्धित क्यान्सरको उपचारका लागि प्रदेश सरकारले ५० हजार बराबरको सहुलियत दिने छ ।
नेपाल सरकारले उपलब्ध गराउने १ लाख खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने कार्यकारी निर्देशक डा.गौतमले जानकारी दिए । उनले भने, ‘गण्डकीका महिलाले प्रजनन् अंगसँग सम्बन्धित क्यान्सरको उपचार गर्दा नेपाल सरकारको १ लाख पछि प्रदेश सरकारको ५० हजार सहुलियत पाउने छन् ।’
उनका अनुसार स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउने छन् । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाले यो सुविधा लिन पाइने डा.गौतमको भनाइ छ । सचिव डा.तिवारीले प्रदेश सरकारको नीतिअनुरुप यो सम्झौता गरिएको बताए ।
उनले आगामी वर्षको कार्यक्रममा महिला, पुरुष र बालबालिकामा हुने सबै खालका क्यान्सरमा सहुलियत दिने कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिए । उनले भने, ‘यो सुरुआत मात्रै हो, आगामी वर्षको कार्यक्रममा सबै खालका क्यान्सरमा सबैले सहुलियत पाउने गरी योजना ल्याउँदैछौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij