Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

काठमाडौंका थप पाँच स्थानमा ट्राफिक लाइट जडान गरिने

काठमाडौंका थप पाँच स्थानमा ट्राफिक लाइट जडान गरिने

  • चैत्र ३१, २०७७ मंगलवार १३:११ बजे
  • 686
    SHARES
  • काठमाडौंका थप पाँच स्थानमा ट्राफिक लाइट जडान गरिने

    काठमाडौं । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक लाइट जडान गर्ने भएको छ ।

    images

    चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा लाइट जडान गरिने विभागले जनाएको छ । काठमाडौंं उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी लाइट जडान भइरहेको विभागले जनाएको छ ।

    पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा लाइट जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । ट्राफिक लाइटका केही सामान आएको छ केही आउने क्रममा रहेको ओझाले बताए ।

    उनकाअनुसार सामान आएकामा त्यसको ‘प्रोजामिङ’ भइरहेको छ । विदेशबाट आउनुपर्नेमा केही सामान आउन अझै बाँकी रहेको छ । यी बत्ती जडानका लागि एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ ।

    उनले भने, ‘यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।’ विभागले अहिले लाइट जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि लाइट रहेको थियो ।

    पहिले थापाथलीमा एउटा निजी संस्थाले परीक्षणका लागि आफ्नो खर्चमा लाइट जडान गरेको थियो । त्यो सफल नभएपछि उसले लाइट निकालेर लगेको उनले बताए । तीनकुने-सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटीमा लाइट जडान गरेको थियो ।

    लाइट काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको लाइट जडान गर्न लागिएको उनले बताए । विभागले अहिलेसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक लाइट जडान गरिसकेको छ ।

    ठाउँठाउँमा उपत्यकाका पालिकाले राखेका पनि लाइट छन् । यी सबै लाइटमा कुन लाइट कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । अरु निकायले जडान गरेको लाइट पनि केही महिनामा विभागलाई नै हस्तान्तरण हुने प्रमुख ओझाले जानकारी दिए ।

    विभागले थप अरु छ/सात ठाउँमा लाइट राख्ने योजना बनाएको छ । चक्रपथको कोटेश्वरबाट-कलंकी खण्डमा ट्राफिक लाइट जडानको काम आगामी आवमा हुनेछ । काठमाडौं उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाउँमा ट्राफिक लाइट जडान गरिसकेको छ ।

    वीरगञ्जमा पनि जडान गरिने योजना बनाइएको छ । उपत्यकासँगै उपत्यका बाहिर पनि यसको माग भइरहेको प्रमुख ओझाले बताए । लाइट जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ ।

    यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ । अझै पनि कतिपय यात्रु र चालकले लाइटको संकेत नबुझेर त कतिले बुझे पनि बेवास्ता गरेकाले त्यसको पालना गराउन ट्राफिक प्रहरी चोकचोकमा खटिएको देख्न सकिन्छ । 

  • सम्बन्धित विषय:

  • # ट्राफिक लाइट

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology