Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सरकारले तोकेको धानको मूल्य किसानले घरमै पाउँछन्

सरकारले तोकेको धानको मूल्य किसानले घरमै पाउँछन्

  • 444
    SHARES
  • सरकारले तोकेको धानको मूल्य किसानले घरमै पाउँछन्

    काठमाडौं । गौरीगञ्ज–१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् ।

    उनले घरैबाट धान बिक्री गर्न थालेका छन् । ‘पहिला त लागत पनि उठ्दैन थियो । अहिले सहकारीले घरमै गएर खरिद गर्छ,’ उनले भने, ‘राम्रो मूल्य पाएका छौँ ।

    खेती गर्दा केही हुन्छ भन्ने लाग्न थालेको छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत धान सुपरजोन कार्यान्वयन इकाई झापामार्फत झापाका दुई सहकारी सूचीकृत भएर किसानका धान खरिद गरिरहेका छन् ।

    महाभाराको साना किसान कृषि सहकारी संस्था र महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएका छन् । सुपरजोन झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार महारानी झोडाले करिब १५ हजार क्विन्टल र महाभाराले करिब साढे सात हजार क्विन्टल धान खरिद गरेको बताए ।

    किसानको धान सरकारले तोकेको मूल्यमा खरिद गरेबापत व्यवस्थापन खर्च भनेर सरकारले प्रति क्विन्टल एक सय १२ रुपैयाँ अनुदान दिने गरेको उनले बताए । विगतमा चारवटा सहकारी आबद्ध भएपनि गत कत्तिकमा बेमौसमी वर्षाले धानबालीमा असर पार्दा दुई सहकारी भने सूचीकृत हुन नमानेको उनले बताए ।

    सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम धान दुई हजार ९०२ मा खरिद गरिरहेको महाभारा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक गंगाप्रसाद ढुंगानाले बताए ।

    मोटा र मध्यम गरेर यो सहकारीले करिब साढे सात हजार क्विन्टल धान किसानबाट खरिद गरेको छ । तर, अहिले बजारमा धानको मूल्य निरन्तर ओरालो लाग्दा समस्या भएको उनी बताउँछन् । धानको मूल्य निरन्तर ओरालो लागिरहेको छ । किसानको पैसा भुक्तानी गर्न बाँकी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij