Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बैतडीका बजारमा निरन्तर अनुगमन

बैतडीका बजारमा निरन्तर अनुगमन

  • 450
    SHARES
  • बैतडीका बजारमा निरन्तर अनुगमन

    बैतडी । संयुक्त अनुगमन टोलीले बैतडी जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत हप्तादेखि सुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो ।

    जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजारमा अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

    डिलाशैनी क्षेत्रका ८ र बाँकी अन्य बजारका १६ गरी २४ व्यापारीलाई जरिवाना गरिएको हो । उनीहरुबाट ९० हजार जरिवाना असुल र ४५ हजार मूल्यबराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको उनले बताए ।

    उनले भने, ‘पहिलो पटक अनुगमन गर्दा सचेत गराउँछौं । दोस्रो पटक पनि उपभोक्ता हितविपरीत सामग्री बिक्री वितरण गरिएको पाइएमा जरिवाना गर्ने गरेका छौं ।’

    अनुगमन टोलीले ७ पसलबाट खाद्यवस्तुको नमूना समेत लिइएको छ । अनुगमनका क्रममा म्याद नाघेको हो कि होइन भनेर थाहा हुन नसकेको चामल, दालको नमूना संकलन गरिएको हो । उक्त संकलित नमूना परीक्षणका खाद्य प्रविधि प्रयोगशाला पठाउने र अखाद्य निस्किए जरिवाना गरिने कार्यालयले जनाएको छ ।

    सूचना अधिकारी भारतीका अनुसार कालोबजारी, म्याद नाघेका सामग्री बढी बिक्री वितरण भएको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको हो । टोलीले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

    उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने र अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ । यसअघि गौरा र दशैँतिहार लक्षित गरिएको बजार अनुगमनका क्रममा २ लाख ५० हजार मूल्य बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij