वेबटिभी खबर
बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-७ स्थित रंगाशालामा विपद् व्यवस्थापन न्यूनीकरणका लागि पूर्व तयारीको संयुक्त अभ्यास सुरु गरिएको छ ।
नेपाली सेनाको कालीजंग गण, जिल्ला प्रहरी कार्यालय, पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं गण र नेपाल रेडक्रस सोसाईटी बनेपा शाखाको संयुक्त आयोजनामा विपद् व्यवस्थापन न्यूनीकरणको अभ्यास सुरु गरिएको हो ।
जुनसुकै बेलामा हुनसक्ने विपद् जोखिम व्यवस्थापनका लागि पूर्व तयारीको क्रममा प्रदर्शन अभ्यासले सर्वसाधारणलाई विपद्को बेलामा सतर्क रहन र गर्नुपर्ने व्यवहारका सम्बन्धमा सन्देश प्रवाह गरिएको छ ।
प्राकृतिक प्रकोपका बेलामा सुरक्षा फौज नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस तथा अन्य सरोकारवाला संघ संस्थासँगको समन्वयमा विपद् व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा नमूना कार्य प्रदर्शन गरिएको कालिजंग गणका उपसेनानी अनिश बाँस्कोटाले बताए ।
पहिलो चरणमा आगलागी नियन्त्रण सम्बन्धी प्रदर्शन, दोस्रो चरणमा भूकम्पको बेला घरभित्र फसेका व्यक्तिलाई उद्धार र ग्यास चुहावट भएर हुनसक्ने जोखिमको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा नमूना प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले पूर्व तयारी, दुर्घटना हुँदा गरिने उद्धार र पुनःस्थापना गर्ने काममा स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताए ।
त्यसका लागि स्थानीय सरकारले मात्र नभएर तीनै तहका सरकारले मिलेर काम गर्न आवश्यक रहेको र विपद् व्यवस्थापनका उद्धारका सामग्री सबै वडा र टोलसम्म पुर्याउन आवश्यक रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विपद् व्यवस्थापन ऐनले उल्लेख गरेको ४३ प्रकारका विपद्लाई व्यवस्थापन गर्न कुनै पनि समयमा तयारी रहन सचेत हुनुपर्नेमा जोड दिए । उक्त अवसरमा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री प्रदर्शन गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij