Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

हेलिकप्टरमा गोसाइँकुण्ड जाने बढे

हेलिकप्टरमा गोसाइँकुण्ड जाने बढे

  • 440
    SHARES
  • हेलिकप्टरमा गोसाइँकुण्ड जाने बढे

    काठमाडौं । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन ।

    स्थानीय होटल व्यवसायी हेलिकप्टरमार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको संख्या बढ्दै गएको बताउँछन् । गोसाइँकुण्ड समुद्र सतहदेखि ४ हजार ३८० मिटर उचाइमा अवस्थित छ । हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र उक्त समस्या समाधान गर्न अक्सिजनसमेत व्यवस्था मिलाइएको हेलिकप्टर कम्पनीले बताएका छन् ।

    गोसाइँकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिबिनायकदेखि  कुण्डसम्म लेक लाग्ने समस्या बढ्छ । आउन जान तीन/चार दिनको समय लाग्ने एवं पैदल तथा हवाईमार्गको खर्च सरदरमा उत्तिकै पर्न जाने भएपछि पछिल्लो पुस्ताका यात्रु हेलिकप्टरतर्फ केन्द्रित हुन थालेका हुन् ।

    हेलिकाप्टरले काठमाडौँको एयरपोर्टबाट २६ मिनेटमै  गोसाइँकुण्ड पुर्याउँछ । दर्शनका लागि आधा घण्टा भन्दा बढी  अतिरिक्त समय दिन्छ । बिहानै भगवानको दर्शन गरेर खाना खान घरमै पुग्ने  गरेको यात्रुहरू बताउँछन् ।

    पैदलमार्गबाट तीर्थ पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत यो सुविधा उपयोगी भएकाले अचेल धेरै ज्येष्ठ नागरिकलाई गोसाइँकुण्ड दर्शन गराइसकिएको सेवा प्रदायक संस्थाले  जनाएको छन् ।

    गोसाइँकुण्ड दर्शनका लागि सिम्रिक, अल्टिच्युड, फिष्टेल, डाइनेष्टिक, कैलाश, माउण्टेन, मनाङ, प्रभुसमेतका हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

    हवाइमार्गबाट गोसाइँकुण्डको तीर्थ गर्दा बाटोमा देखिने अग्ला सेताम्मे हिमाल, झरिरहेका पानीका झर्ना, हरियाली वन, ताल तलैयाले यात्रा मनमोहक बनाउने गरेको हावाइयात्रु  काठमाडौँ सीतापाइलास्थित जनउद्वार माविका शिक्षक राजु केसीले बताए ।

    हेलिकप्टर गोसाइँकुण्डको डिलमा अवतरण गरेपश्चात् भगवान शिवको दर्शन गर्दा आनन्दको अनुभूति प्राप्त हुने र  हेलिप्याडको डिलबाटै केही तल अवस्थित  सरस्वती एवं भैरव कुण्डसमेत देखिने भएकोले यो यात्रा थप रमाइलो बनेको शिक्षक केसीले बताए ।

    तामाको दियोमा गाईको घीउ राखेर बत्ती बाल्ने, कपुरले धूपदीप गर्ने, बसाह र त्रिशूल, जटाभएको नरिवल एवं पहुँलो बस्त्र चढाइ  जौ, तिल, केसरी, बेलपत्र र  फूलले पूजाआजा गर्नेपर्ने चलन रहेको पुजारी टङ्कप्रसाद ढकालले बताए ।

    समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरेर प्राणी जगतलाई बचाउने देवताका पनि देव भगवान महादेव गोसाइँकुण्डमा शिवजी हुनु भएकोले एक पटक भने पनि तीर्थ जानुपर्ने मान्यता रहिआएको छ ।

    प्रत्येक वर्ष गङ्गा दशहरा र जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने विशेष मेला भर्न पैदल मार्गबाट वार्षिक रूपमा २०औँ हजार भक्तजन सो क्षेत्र पुग्ने गरे तापनि विगतको कोरोना संक्रमण ण भएयता हावाइ यात्राको  आर्कषण बढेको हो ।

    रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड तीर्थमा डबुल्की मारेपछि शरीरका रोग हट्ने र पूजाआजा गरेपछि मनोकांक्षा पुरा भई नयाँ सोच विचार आउने, घर परिवारमा सुखशान्ति बढ्ने विश्वास रहिआएको छ । 

    पुस, माघ तथा फागुन महिनामा भने बढी हिमपात हुने कारण यस क्षेत्रको दृश्य निकै मनमोहक देखन्छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij