वेबटिभी खबर
काठमाडौं । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारलाई साथ नदिने राष्ट्रिय जनमोर्चाले निष्कर्ष निकालेको छ ।
सरकारविरुद्ध विपक्षी दलले ल्याउने अविस्वास प्रस्तावमा समर्थन गर्ने जनाउँदै जनमोर्चाले एमालेका गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थनबाट पछि हट्ने निष्कर्ष निकालेको हो ।
गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पारेका छन् ।
जनमोर्चाले वर्तमान गण्डकी सरकार पनि केन्द्रमा केपी ओली नेतृत्वको सरकारजस्तै प्रतिगमनलाई नै मद्दत पुग्ने काम गरिरहेकाले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीबाट गुरुङलाई हटाउने प्रस्तावमा समर्थन गरेको जानकारी दिएको छ ।
‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारकाविरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ,’ वक्तव्यमा उल्लेख छ ।
आफूहरु वामपन्थीको पक्षमा रहेकोले हालसम्म सरकारको समर्थन गरिरहेको तर नेकपा माओवादीले समर्थन फिर्ता लिइसकेपछि एमाले एक्लैको सरकार भएकोले समर्थन गर्न नसकिने जनमोर्चाको स्पष्टोक्ति छ ।
जनमोर्चाले मुख्यमन्त्रीबाट गुरुङ हटेपछि नयाँ बन्ने सरकारलाई समर्थन गर्ने तर सहभागी नहुनेसमेत बताएको छ । गणडकीमा एमाले नतृत्वको सरकार जोगिन जनमोर्चाको साथ आवश्यक छ । जनमोर्चाले साथ नदिने भएपछि मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन नसक्ने निश्चित छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij