मिलन दाहाल
काठमाडौं । यतिबेला नेपाली बजारमा नुनदेखि सुनसम्मको मूल्य ह्वात्तै बढेको छ । केहीसाता अघिसम्म ९७ हजार वरिपरीरहेको सुनको मूल्य अहिले एकलाख नाघिसकेको छ ।
यसैगरी तेल, दाल, चामल, चिनी, तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य सामाग्रीदेखि निर्माण सामाग्रीको समेत मूल्य आकाशिएको छ । करिब एक महिनाअघि एक सयमा पाइने सामानलाई अहिले उपभोत्ताले १३५/१४० तिर्न बाध्य भएका छन् ।
व्यापारीहरूले रूस-युक्रेन युद्धले अन्तिर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएको भन्दै हरेक सामाग्रीको मूल्य बढाउन थालेका छन् । तर रूस-युक्रेन युद्धका कारण बढेको बजार मूल्यको सामाग्री नेपालमा भने आइसकेको छैन ।
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार व्यवसायीहरूले स्टक सामाग्रीमा मूल्य बढाएर उपभोक्तालाई मार्कामा पारेका छन् । केही समयअघि प्रतिकेजी १०० देखि १०५ रूपैयाँ सम्ममा पाइने फलामे डन्डीको मूल्य अहिले बढेर १३५ रूपैयाँसम्म पुगेको छ ।
व्यवसायीहरूले विभिन्न बहानामा निर्माण सामाग्रीदेखि खाद्यवस्तुसम्मको मूल्य अस्वभाविक रूपमा बढाएको उभोक्ता अधिकारकर्मी माधव तिमिल्सीना बताउँछन् । उनका अनुसार सरकारको अनुगमन र नियमन कमजोर भएका कारण व्यापारीहरूले आफूखुसी मूल्यवृद्धि गरेका हुन् ।
रूस र युक्रेनबीच युद्ध जारी रहेकाले कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएपनि मूल्यवृद्धि भएको सामान नेपाली बजारमा आइनसकेको उनी बताउँछन् । नियमन गर्ने सरकारी निकायले ध्यान नदिँदा व्यापारीहरूले आफूखुसी कमाउने अवसर छाेपेको उनको आरोप छ ।
उनले उपभोक्ताहित सरकारको प्राथमिकतामा नपरेका कारण जनता अस्वभाविक मूल्यवृद्धि खेप्न बाध्य भएको दाबी गरे । यस्ता विषयमा अनुगमन र निरीक्षण गर्नुपर्ने दायित्व बोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै लामो समयदेखि मन्त्रीविहीन हुनुले पनि सरकारी उदासिनता झल्किने उनी बताउँछन ।
तिमिल्सिनाले उक्त मन्त्रालय हाल प्रधानमन्त्रीले सम्हालेको र कर्मचारीको पहुँच प्रधानमन्त्रीसम्म पुग्न कठिन हुनेहुँदा यो मौका छोपेर व्यवसायीहरूले मूल्य बढाएर कमाइ गरेको बताए । उनले अहिले बढेको अस्वभाविक मूल्यवृद्धिका सम्बन्धमा प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित निकायहरूमा निरन्तर पत्रचार गर्दा पनि सुनुवाइ नभएको उल्लेख गरे ।
इन्धन मूल्यवृद्धिको असर सर्वत्र
पेट्रोलीयम पदार्थको मूल्य बढेकोले ढुवानीमा बढी खर्च लागेको भन्दै हरेक सामग्रीमा मूल्य बढाइएको छ । केही हप्ताअघिसम्म १३५ वरिपरी रहेको पेट्रोलको मूल्य अहिले प्रतिलिटर १५० पुगेको छ भने डजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रूपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै नेपाल आयल निगमले गत फागुन १९ गतेदेखि पेट्रोलीयम पदार्थको उक्त मूल्य निर्धारण गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बढेपछि व्यापारीहरूले ढुवानी खर्च बढेको लगायत विभिन्न बहानामा मूल्यवृद्धि गरेका हुन् ।
विदेशबाट आयात हुने सामाग्रीको मात्र नभएर नेपालमै उत्पादन हुने वस्तुको पनि अस्वभाविक रूपले मूल्यवृद्धि भएको छ । रूस र युक्रेनको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य उच्चदरमा वृद्धि भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पेट्रोलियम पर्दाथमा ६० प्रतिशत मूल्यवृद्धि हुँदा निर्माण व्यावसायीलाई ठूलो मर्का परेको बताए । हरेक समानको मूल्यवृद्धि हुँदा निर्माण व्यावसायीले कामै गर्न नसक्ने अवस्था रहेको उनले औंल्याए । मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारले मूल्यवृद्धि निर्देशिका जारी गर्नुपर्ने उनको भनाइ छ ।
फलामे डन्डीको केसमा व्यापारीहरूले रूस-युक्रेन युद्धको मौका छोपेर मूल्य बढाएको उनको आरोप छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको सामाग्री नेपाली बजारमा आइनपुग्दै व्यवसायीहरूले अस्वभाविक रूपमा डन्डीको मूल्यवृद्धि गरेको उनको आरोप छ ।
उनले भने, ‘डन्डी व्यापारीहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा घटाउँदैनन तर मूल्य बढेको भनेर थाहा पाएको एक घण्टामै मूल्य बढाउँछन् ।’ नयाँ आउने सामाग्रीमा मूल्यवृद्धि हुनुपर्ने भए पनि व्यापारीहरूले स्टक समानमा नै अत्याधिक मूल्य बढाएको उनको दाबी छ । उनले नेपाल आयल निगमले पनि निर्माण व्यवसायीहरूको अफसिजनमा मूल्य घटाउने र काम गर्ने सिजनमा मूल्यवृद्धि गर्ने गरेको गुनासो गरे ।
जगदम्बा स्टील्सका सेल्स म्यानेजर प्रभु आचार्यले फलामको मूल्य बढ्ने र घट्ने विषयमा नेपालको कुनै पनि हात नहुने बताए । फलाम र फलाम जन्य कच्चा पदार्थ भारतबाट आउने भएकाले अन्तर्राष्ट्रिय मूल्यवृद्धिको सीधै असर पर्ने उनी बताउँछन् ।
नेपालका कुनै पनि फलाम खानी उत्खनन् नभएका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य परिवर्तन हुनेवित्तिकै नेपालमा सीधै असर पर्ने उनले स्पष्ट पारे । ‘हरेक सामाग्रीमा भारतसँग निर्भर छौँ,’ उनले भने, ‘रूस र युक्रेनको युद्धका कारण त्यहाँबाट फलामजन्य सामाग्रीहरू युरोप जान बन्द भएकाले युरोपतिरको माग पनि भारतमा बढेको छ । त्यसले गर्दा नेपालमा पनि एक्कासी असर परेको हो ।’
उनले नेपाली बजारमा हाल फलामको मूल्य प्रतिकेजी १२४ रूपैयाँ रहेको र छिटै योभन्दा महंगो हुने सम्भावना रहेको औंल्याए । नेपालमा प्रयोग हुने अधिकांश सिमेन्ट नेपालमै उत्पादन हुने भएका कारण सिमेन्टमा भने खासै असर नपरेको उनको भनाइ छ ।
नियमित बजार अनुगमन भइरहेको छ, आफूखुसी गर्नेलाई कारबाही गछौँ : प्रवक्ता पंगेनी
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनीले सुक्ष्म रूपमा बजार अनुगमन भइरहेको बताएका छन् । सञ्चारमाध्यमबाट बजार मूल्य बढेको जानकारी प्राप्त भएको र केही महंगीविरूद्ध गुनासोसमेत आउन थालेकाले अनुगमनलाई तीव्रता दिइएको उनले बताए ।
अनुगमनका क्रममा दोषी देखिएका व्यवासायीलाई उपभोक्ता संरक्षण ऐन बमोजिम कारबाही गरेने उनले दावी गरे । विभागले आफ्नै ढंगले अनुगमन गरिरहेको कृतिम मूल्यवृद्धि भएको पाइए तत्कालै कारबाही हुने स्पष्ट पारे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij