वेबटिभी खबर
दमक । दमकमा आगामी चैतदेखि फोहाेरबाट ग्यास र प्राङ्गरिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहरबाट एकैसाथ ग्यास र प्राङ्गरिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक बिमल खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार फोहाेरबाट घरका भान्सामा प्रगोग हुने ग्यासदेखि खेतबारीमा प्रयोग हुने प्राङ्गरिक मल उत्पादन हुने भएको हो । कुहिने फोहाेर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
फोहाेरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गरिक मल र झोल मल उत्पादन गरिने दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताए । यसका लागि दमक-३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
नगरको फोहाेर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहर छुट्याइन्छ । यसरी छुट्याइएको फोहरमध्ये जैविक फोहरलाई ठूलो ट्यांकीमा हालेर १५ दिनसम्म कुहिन्छ ।
यसरी कुहिएको फोहाेरबाट मिथेन बायोग्यास उत्पादन हुने र उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिण्डरमार्फत वितरण गरिने छ । बाँकी कुहिएको फोहाेरबाट प्राङ्गरिक मल उत्पादन गरिन्छ भने यहाँ जमेको तरल पदार्थबाट झोल प्राङ्गरिक मल उत्पादन गरिने कम्पन्नीका प्रबन्धक निर्देशक खतिवडाले जानकारी दिए ।
उनका अनुसार प्रशोधनका लागि २२ मिटर चौडाइ र ८.५ मिटर उचाइ भएको विशाल पक्की ट्यांकी निर्माण भइरहेको छ । यहाँबाट दैनिक १ हजार ८४ किलोग्राम वायोग्यास उत्पादन गर्न सकिन्छ ।
यस्तै दैनिक १० हजार किलोग्राम प्राङ्गरिक मल तथा करिब ७ हजार ५ सय लिटर झोल मल उत्पादन गर्न सकिने दमक नपाका फोहाेर व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए । कूल २० करोड ५८ लाख ९७ हजार लागतमा संरचना निर्माण हुने छ ।
यसमा १४ करोड ७० लाख बढी नेक्स्ट इरा इनर्जी प्रालि/रोहन ट्रेर्डस प्रालि जेभीको र बाँकी ५ करोड ८ लाख रकम बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रहने जनाइएको छ । जेभीले २०७७ माघ १० गते सम्झौता गरेको थियो ।
दमक क्षेत्रमा दैनिक २० टन फोहर उत्पादन हुने गरेको छ भने १५ टन फोहाेर संकलन हुँदै आएको छ । जसमध्ये दमक क्षेत्रमा ६६.५२ प्रतिशत जैविक फोहाेर रहने गरेको छ । कागज तथा कागजजन्य ६.५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य ५.३७ प्रतिशत फोहाेर निस्किने गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij