Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कुखुरा उत्पादन नहुँदा मासुको अभाव

कुखुरा उत्पादन नहुँदा मासुको अभाव

  • 526
    SHARES
  • कुखुरा उत्पादन नहुँदा मासुको अभाव

    खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मंसिर र पुसमा  परेको हिमपात साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो ।

    फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र (फ्रेस हाउस)हरू अहिले बन्द छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषणा गर्दै तराईबाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डामा रोक लगाएपछि दिक्तेल बजारमा अहिले मासु अभाव भएको हो ।

    लामो समयको वर्षा र हिमपातपछि बढेको चिसो, ओमिक्रोनको त्रासका कारण जिल्लामा ब्रोइलर कुखुराको मासु उत्पादन गर्न नसक्दा व्यवसायीले करोडौँको घाटा व्यहोर्नुपरेको पोल्ट्री व्यवसायी संघ खोटाङका अध्यक्ष सुवास जोशीले बताए ।

    ‘प्रतिकेजी ५०० मा बिक्री हुने ब्रोइलर कुखुराको मासु दिक्तेल बजारमा मात्रै दैनिक २५० देखि ३०० केजीसम्म बिक्री हुने गरेको थियो’, उनले भने, ‘चिसो र ओमिक्रोनको त्रासका कारण कुखुरा उत्पादन गर्न नसक्दा ग्राहकलाई दिन सकिएको छैन । पछिल्लो समय अधिकांश फार्ममा चल्ला हालिएको छ, अब फागु पूर्णिमादेखि निरन्तर बजारमा ल्याउने तयारी गरेका छौं ।’

    जिल्लाका सहरी क्षेत्र तथा गाउँमा समेत मासु अभाव भएपछि अहिले अण्डाको माग बढेको पोल्ट्री व्यवसायीले बताएका छन् । यसका लागि दिक्तेल बजारमा मात्रै व्यावसायिकरूपमा करिब ५ हजार लेयर्स कुखुरा पालिएका छन् ।

    दिक्तेल बजारमा सञ्चालित लेयर्स कुखुरा फार्मबाट पछिल्लो समय दैनिक करिब १५-२० कार्टुन अण्डा बिक्री हुने गरेको पोल्ट्री व्यवसायी संघले जनाएको छ । यद्यपि तराईका विभिन्न जिल्लाबाट कम मूल्यमा आयात गरिने अण्डाले जिल्लामा उत्पादित अण्डा बिक्रीमा समस्या हुने गरेको बताइएको छ ।

    व्यवसायीका अनुसार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ । तराईबाट आयात हुने अण्डा कति दिन उत्पादन भएको हो भन्ने पहिचान नहुँदा महिनौंपछि समेत उपभोग गर्ने गरिएको छ ।

    दिक्तेल बजार तथा आसपासका क्षेत्रमा कुखुराको मासु पाउन छाडेपछि अहिले जिल्लामा स्थानीय जातका कुखुराले राम्रो मूल्य पाएका छन् । यसअघिसम्म प्रतिकेजी ८०० मा पाउने स्थानीय जातका कुखुराको मूल्य बढेर अहिले प्रतिकेजी ९०० देखि १ हजारसम्म पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij