Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

इलाका प्रशासन कार्यालय पुनःस्थापना नहुँदा स्थानीयवासीलाई समस्या

इलाका प्रशासन कार्यालय पुनःस्थापना नहुँदा स्थानीयवासीलाई समस्या

  • 779
    SHARES
  • इलाका प्रशासन कार्यालय पुनःस्थापना नहुँदा स्थानीयवासीलाई समस्या

    नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनः स्थापना नहुँदा स्थानीयवासीलाई समस्या भएको छ । नरैनापुर गाउँपालिका-४ मा रहेको इलाका प्रशासन कार्यालय २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा विस्थापित भएको थियो ।

    त्यसयता स्थानीय सरकारको रूपमा गाउँपालिका कार्यालय स्थापना भइसके पनि इलाका प्रशासन कार्यालय भने हालसम्म पुनःस्थापित हुन सकेको छैन । इलाका प्रशासन कार्यालय नहुँदा सहजै प्राप्त हुने नागरिकता प्रमाणपत्र बनाउने लगायतका सेवाबाट नरैनापुरवासी वञ्चित भएको स्थानीय सोहनलाल यादवले बताए ।

    उनले अहिले नागरिकता बनाउन सदरमुकाम नेपालगञ्ज आउनुपर्दा जनतालाई समय र आर्थिक भार पर्ने गरेको उल्लेख गरे । इलाका प्रशासन नहुँदा खासगरी वृद्धवृद्धा, अपांगता भएका व्यक्ति नेपालगञ्ज आवतजावत गर्न नसक्ने कारणले नागरिकता बनाउन नसकी सामाजिक सुरक्षा भत्तालगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित भएको उनको भनाइ छ ।

    इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनः स्थापना गर्न माग गर्दै नरैनापुरवासीले ५ हजार हस्ताक्षर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई बुझाएका छन् । इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गरी नेपाली नागरिकता प्रमाणपत्र लगायतका सेवा सुविधा सरल, सुलभ तरिकाले उपलब्ध गराउने व्यवस्था मिलाउन नरैनापुरवासीले ज्ञापनपत्र बुझाएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

    उनले नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनः स्थापनाको लागि गृहमन्त्रालयमा कर्मचारी माग गरिसकेकाले अब छिट्टै स्थापना हुने बताए । ‘त्यहाँको कार्यालय प्रमुख तोकिसकेकाले नागरिकतामा सही गर्ने मान्छे छैन, हामीले गृहमन्त्रालयमा माग गरिसकेका छौं’, उनले भने, ‘मन्त्रालयले तोकेर पठाउना साथ इलाका प्रशासन कार्यालय सुचारू हुनेछ ।’

    सदरमुकाम नेपालगञ्जबाट करिब ४४ किलोमिटर टाढा रहेको नरैनापुर बाँकेको दुर्गम क्षेत्र मानिँदै आएको छ । डेढ वर्ष अघिमात्रै त्यहाँ सडक र विद्युत् सेवा पुगेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij