वेबटिभी खबर
बागलुङ । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र १ सहकारीलाई अनुदान रकम दिएको हो ।
बागलुङ नगरपालिका-४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो ।
दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध गराइएको छ ।अनुदान पाउने एकमात्रै सहकारी वडा नं ११ को जैविक कृषि सहकारी हो ।
प्रतिपाडापाडी १० हजारका दरले किसानलाई अनुदान उपलब्ध गराइएको छ । श्री कृष्ण गाईफार्मले १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेको छ । त्यस्तै मासुकै उत्पादनको लागि १०० किसानले अनुदान पाएका छन् ।
प्रतिबाख्राका लागि प्रतिव्यक्ति ६ हजारका दरले अनुदान पाएका हुन् । कुखुरापालन गरेर खर्च चलाइरहेका ४२ किसानले ४ हजार ३०० का दरले अनुदान रकम पाएको पशु शाखाका प्रमुख शशीधर शर्माले बताए ।
बङ्गुरपालन गरेका ३६ किसानलाई ६ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । माछापालनमा सहभागी किसानले प्रतिपोखरी पुरानोले मर्मत खर्च १० हजार र नयाँ पोखरीका लागि २५ हजारका दरले अनुदान पाएका छन् । ४३ वटा माछापोखरीका लागि अनुदान उपलब्ध गराइएको उनले बताए ।
किसानको प्रोत्साहनका लागि घर-घरमै पुगेर व्यवसाय जाँच गरेपछि अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए । बागलुङ नगरपालिकाको १० लाख र नेपाल सरकारको थप १५ लाख गरी नगरले एकैपटक २५ लाख रकम किसानको उपलब्ध गराएको हो ।
‘पशुपन्छी पालिरहेकाको समस्या भएन, माछाका लागि नयाँ पोखरीको हामी निरन्तर अनुगमन गर्नेछौं’, उनले भने, ‘अनुदान रकम पनि किसानकै पैसा हो, आफ्नै खर्च सम्झेर सदुपयोग गर्न र आम्दानी बढाउन भनेका छौं ।’
अनुदान रकम वितरण गर्दै नगरप्रमुख जनकराज पौडेलले पशुपालन जस्तो कठिन काम गरेर उपभोक्ताको भोक मेटाउन सहयोग गरेको भन्दै किसानलाई धन्यवाद दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij