Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सहकारीमार्फत सार्वजनिक जग्गामा सामूहिक खेती

सहकारीमार्फत सार्वजनिक जग्गामा सामूहिक खेती

  • 547
    SHARES
  • सहकारीमार्फत सार्वजनिक जग्गामा सामूहिक खेती

    तनहुँ । व्यास नगरपालिका-१० स्थित सिसुवा भतेरी कृषि सहकारीमार्फत सार्वजनिक जग्गामा स्थानीय सामूहिक खेती गर्न जुटेका छन् । उक्त वडास्थित मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा मौसम अनुरूपको बाली लगाउन सामूहिक खेतीमा उनीहरू जुटेका हुन् ।

    संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आय वृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए । सहकारीले अति सीमान्तकृत, दलित तथा विपन्न व्यक्तिको आयआर्जनमा टेवा दिनुका साथै अंधिया खेतीको लागि अन्यत्र जानुपर्ने समस्या हटेको छ ।

    विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि उक्त सार्वजनिक जग्गा निःशुल्क प्रयोग गर्न अनुमति दिएपछि विगत चार वर्ष अघिदेखि नै सामूहिक खेती गरिदै आएको हो । करिब १ लाख लागतमा जमिन समथर बनाएपछि उक्त खेती शुरु भएको हो ।

    सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि १७ लाख पर्ने ट्रयाक्टर प्रदान गरेपछि खेती लगाउन सहज भएको अध्यक्ष शर्माले जानकारी दिए ।

    जसको जग्गा छैन उनीहरुलाई पहिलो प्राथमिकता दिएर समूह बनाइएको छ । मैले काम पाइन तथा मैले गरी खान पाइन्न भन्नेका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

    सहकारीले पराल तथा घाँस सोही ठाउँस्थित गौसंरक्षण प्राङ्गरिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिने र केन्द्रले गाईको मलमूत्र सामूहिक खेतीको लागि दिने व्यवस्था मिलाइएको छ । सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएका छन् ।

    सहकारीमा आवद्ध भएकाले सामूहिक खेती र गाईभैंसीको दूध बिक्री गरी मासिक ३० हजारसम्म आम्दानी गर्दै आएका छन् । उक्त सहकारीमा हाल ३२६ आवद्ध भएकामध्ये १०९ जना सामूहिक खेतीमासमेत सहभागी भइसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij