Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नेपाल वायुसेवा निगमको जग्गा कवाडी राख्ने र शौच गर्ने थलो बन्दै 

नेपाल वायुसेवा निगमको जग्गा कवाडी राख्ने र शौच गर्ने थलो बन्दै 

  • 481
    SHARES
  • नेपाल वायुसेवा निगमको जग्गा कवाडी राख्ने र शौच गर्ने थलो बन्दै 

    धनगढी । नेपाल वायुसेवा निगमको धनगढीमा रहेको जग्गा कवाडीका सामान राख्ने र शौच गर्ने थलोको रूपमा परिणत भएको छ । जग्गा रेखदेखको अभावमा बेवारिसे बनेपछि कवाडी राख्ने र शौच गर्ने थलोमा परिणत भएको हो ।

    जग्गामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार (गेट) भत्किएको छ भने वरिपरि लगाइएको पर्खाल पनि ठाउँ-ठाउँमा भत्किएको छ । झण्डै दश कट्ठा क्षेत्रफल रहेको उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख नहुँदा बेवारिसे हुँदै भएको हो ।

    जग्गा नजिकैको कालोपत्र सडक छेउमा व्यापार गर्दै आएकी रसीतुल्लाले भनिन्, ‘सरकारी कार्यालय भएर पनि नेपाल वायुसेवाको जग्गा बेवारिसे बनेको छ, धनगढी सहरको मुटुमा रहेको यो जग्गा उपयोगमा ल्याउन सके कार्यालयको आम्दानी बढ्ने थियो ।’

    धनगढीमा सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमको कार्यालय झण्डै पाँच वर्षअघि बन्द गरिएको थियो । धनगढी विमानस्थलबाट वायुसेवा निगमले आफ्नो जहाज उडाउन नसकेपछि धनगढीको कार्यालय पनि बन्द गरेको हो ।

    निगमले सुदूरपश्चिमको डोटी, अछाम, बझाङ, बाजुरा लगायतका क्षेत्रमा धनगढी विमानस्थलबाट केही महिनादेखि हवाई सेवा सुरु गरेको छ । योसँगै धनगढी विमानस्थलमै निगमको कार्यालय सञ्चालन गरिएको छ ।

    निगमका एक कर्मचारीले भने, ‘धनगढीमा रहेको जग्गा भाडामा लगाउने वा आफ्नै भवन निर्माण गर्ने भन्ने विषयमा केन्द्रमा कुरा चलिरहेको छ ।’ यसअघि निगमले विगतमा उक्त जग्गालाई भाडामा दिने प्रक्रिया थालेको थियो । भाडामा लिने पहल गरेका स्थानीयवासी रमणचन्द्र श्रेष्ठले जटिल कानुनी प्रक्रियासँगै लापर्बाहीका कारण भाडामा लिन नसकिएको बताए ।

    ‘जग्गा भाडामा लगाउन नेपाल वायुसेवा निगमले प्रकाशित गरेको बोलपत्र बमोजिम हामीले उक्त जग्गामा ‘स्मार्ट सहर’ बनाउने योजनासहित भाडामा लिने प्रयास गरेका हौं’, उनले भने, ‘तर बोलपत्रमा चार वर्षभन्दा बढी समय भाडामा लिन नपाइने भनेर उल्लेख भएको अवस्थामा यसमा ठूलो लगानी गर्नुपर्ने देखिएपछि आफूहरू पछि हट्नुपरेको हो ।’

    पछिल्लो समय उक्त जग्गामा बालुवा र गिट्टीसमेत थुपार्ने गरिएको छ । ‘कवाडी राख्ने र शौच गर्ने थलो बन्दा वरिपरिको वातावरणसमेत दुर्गन्धित भइरहेको छ’, स्थानीयवासी रसीतुल्लाले भने । जग्गा नजिकै रहेको खोलामा धनगढी उपमहानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न थालेपछि वातावरण थप दुर्गन्धित बनेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij