वेबटिभी खबर
नुवाकोट । सामुदायिक आँखा केन्द्र नुवाकोटले नुवाकोट र रसुवाका १९१ मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरेर आँखाको ज्योति फर्काएको छ ।
नुवाकोटको विभिन्न स्थानमा गरिएको निः शुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचारको पर्खाइमा रहेका दुई जिल्लाका १९१ बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको हो ।
केन्द्रका प्रमुख ताराबहादुर वाइवाका अनुसार नुवाकोटको उर्लेनी, लच्याङ, बुङताङ, तारुका, बेलकोट र रानीपौवामा गरिएको निः शुल्क स्वास्थ्य शिविरमा मोतियाबिन्दुका बिरामीलाई केन्द्रको शल्यक्रिया कक्ष विदुरमा सोमबार र मंगलबार दुई दिन निः शुल्क शल्यक्रिया सेवा दिइएको थियो ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका नेत्ररोग विशेषज्ञसहित ६ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेर ती बिरामीको आँखामा पुनः दृष्टि फर्काउन सफल भएको हो । जनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गएपनि आँखाको हेरचाहमा भने चेतनास्तर बढाउन आवश्यक देखिएको नेत्ररोग विशेषज्ञ डा.मनिता अमात्यले बताइन् ।
शिविरमा जाँच गर्न आएकामध्ये १० प्रतिशतमा रोगको संक्रमण देखिएको उनले जानकारी दिइन् । ‘संक्रमण पहिचान भएका व्यक्तिमा जन्मजातदेखिको मोतियाबिन्दु पाइएको छ भने रोग बढेर अन्तिम अवस्थामा पुगेका बिरामीसमेत भेटिएका छन्’, उनले भने, ‘सरुवा रोगबाट सुरक्षित रहन हात धुन र मास्क लगाउनुपर्छ भन्ने चेतना पाइए पनि आँखाको सरसफाइसम्बन्धी ज्ञान भने निकै कम पाइयो ।’
विभिन्न ६ स्थानमा गरिएको शिविर तथा जाँच गराउन आएका बिरामीमध्ये १० प्रतिशतमा मोतियाबिन्दु पहिचान भएकाले यस आर्थिक वर्षमा थप २५ स्थानमा शिविर चलाउने तयारी गरिएको केन्द्रका प्रमुख वाइवाले जानकारी दिए ।
उनका अनुसार निःशुल्क शिविर सञ्चालन गरेर मोतियाबिन्दुका बिरामी खोज्न आवश्यक कार्ययोजना, बजेटको तर्जुमा, विशेषज्ञ चिकित्सक लगायतको प्रबन्ध मिलाएर दुई जिल्लामा १ हजार मोतियाबिन्दु भएका बिरामीको आँखाको ज्योति फर्काउने लक्ष्य लिइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij