Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अर्ग्यानीक तरकारी खेतीमा आकर्षित हुँदै किसान

अर्ग्यानीक तरकारी खेतीमा आकर्षित हुँदै किसान

  • 544
    SHARES
  • अर्ग्यानीक तरकारी खेतीमा आकर्षित हुँदै किसान

    भोजपुर । भोजपुर जिल्लाका किसान अर्ग्यानीक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरू तरकारी खेतीमा लागेका हुन् । बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादियुक्त तरकारीको आयात बढेपछि किसानले अर्ग्यानीक तरकारी उत्पादनमा जोड दिएका छन् ।

    स्याउला तथा गाई-गोरूको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने लक्ष्य रहेको अरूण गाउँपालिकाका कृषक शान्तिकुमार कार्कीले जानकारी दिए ।

    कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरूण गाउँपालिकाका २१ परिवारमा अर्ग्यानीक खेती गरिरहेका छन् । उनले भने, ‘हामीले २१ आधुनिक टनेल निर्माण गरेर अर्ग्यानीक खेती थालेका छौं । हामीलाई केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्ग्यानीक तरकारीको मागलाई पूरा गर्ने गरी खेती गरेका छौं ।’

    किसानले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाई, गोरू तथा पशुको मूत्रलाई विषादिको रूपमा प्रयोग गर्ने गरेका छन् । कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीमा हाल्ने गरेको एक कृषकले बताए ।

    मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुलालगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका हुन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि उनीहरू अर्ग्यानीक तरकारी खेतीतर्फ उन्मुख भएका छन् ।

    उत्पादन बढाउन कम्पोस्ट र प्राङ्गरिक मलको प्रयोग बढी रहेको कृषक बताउँछन् । तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्राङ्गरिक खेती प्रवर्द्धन अभियान कार्यक्रमअन्तर्गत खेतीको थालनी भएको हो ।

    १० लाख लागतमा दुईवटा कलस्टर बनाएर प्याउली र सिमटारमाका कृषक समूहमा परीक्षणको रूपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जनाएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादिको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्येक्ष असर गरिरहेकाले अर्ग्यानीक तरकारी खेतीमा आकर्षित हुँदै किसान तरकारी उत्पादन गर्ने कार्यालयले लक्ष्य लिएको छ ।

    केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले भने, ‘हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौं । अर्ग्यानीक खेतीलाई प्रवर्द्धन गर्नका लागि जिल्लामा पहिलोपटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौं । यसले बजारमा रहेको अर्ग्यानीक खाद्य बालीको मागलाई केही हदसम्मका पूरा गर्नेमा हामी ढुक्क छौं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij