वेबटिभी खबर
काठमाडौं । प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न सूचना जारी गरेको छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवद्वारा जारी सूचनामा स्थायी राजधानी र नाम तोक्ने प्रस्ताव दर्ता गर्न वैशाख ९ गते दिनको ३ बजेसम्मको समय दिइएको छ ।
झण्डै ६ महिनापछि चैत ३० मा बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी र सतारूढ दलकै सांसदहरूले पनि स्थायी राजधानी र नाम तोक्न नसकेकोमा सरकारको आलोचना गरेका थिए ।
सांसदहरुले सरकारको ध्यानाकर्षण गराएपछि सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले बिहीबार प्रस्ताव दर्ता गराउन सुचना सार्वजनिक गरेको हो ।
प्रदेशसभा गठन भएको साढे तीन वर्ष वित्न लाग्दा पनि नाम र स्थायी राजधानी तोक्न नसक्दा प्रदेश सरकारको जताततै आलोचना भइरहेको छ ।
यसअघि ०७६ चैत ४ मा प्रदेश २ को प्रदेशसभामा नामसम्बन्धी चार प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ प्रस्ताव दर्ता भएको थियो । तर दलहरुबीच सहमति नजुट्दा प्रदेशसभामा मतदान नै भए पनि दुई तिहाइ बहुमत नपुगेपछि सबै प्रस्ताव रद्द भएको थियो ।
सतारूढ जसपाले प्रदेशको नाम ‘मधेश’, तत्कालीन नेकपाले ‘मिथिला भोजपुरा’ र कांग्रेसले ‘जानकी’ राख्नुपर्ने प्रस्ताव गरेका थिए ।
यद्यपि केही सांसदबाहेक सबै दल स्थायी राजधानी जनकपुरधामलाई तोक्नुपर्नेमा लगभग सहमत थिए ।
१०७ कुल सांसद रहेको प्रदेश २ मा एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई माओवादीले पदमुक्त गरेपछि अब १०३ सांसद मात्र छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij