वेबटिभी खबर
काठमाडौं । पोखरामा रहेका भूमिहीन सुकुम्बासीले महानगरपालिकाले आयोगलाई असहयोग गरेको भन्दै कार्यालय घेरेका छन् । मबार न्युरोडस्थित महानगरपालिकाको कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
उनीहरूले भ्रष्टाचारको विरोध गरेका छन् भने तत्कालै भूमिहीनको समस्या समाधान गर्न माग गरेका छन् । पोखरा महानगरपालिकामा मात्रै करिब ४० ठाउँमा सुकुम्बासी छन् । जिल्लाभर ४५ देखि ५० हजार सुकुम्बासी रहेको प्रारम्भिक अनुमान छ ।
काजीपोखरीको सुकुम्बासी टोलमा बस्दै आएका रमेश बल्कोटी पटक–पटक ध्यानाकर्षण गराउँदासमेत महानगरले अटेर गरेको बताउँछन् । उनले भने,‘धेरै पटक मागपत्र पनि बुझायौं । भेटेर सल्लाह पनि गर्यौं । हुन्छ भन्छन् तर काम गर्दैनन् ।’
पहिलेको आयोगले प्रारम्भिक रूपमा निवेदन लिएको थियो । तर निवेदनअनुसार काम अघि नबढेको उनले बताए । उनका अनुसार पहिलाको सरकारले भरेको फारम वडामै थन्किएको छ ।
आफूहरूलाई भोटका बेला मात्रै प्रयोग गर्ने र त्यसपछि आफ्ना मुद्दा सम्बोधन नगर्ने समस्याका कारण सुकुम्बासीले मुक्ति नपाएको उनको गुनासो छ । ‘हिजो सुकुम्बासीको भोटले जित्ने, आज सुकुम्बासीका काम नगरिदिने ? उनले प्रश्न गरे ।’
बल्कोटी भन्छन्, ‘यस्तै अवस्था भैरहे नगरपालिकाले कामै गर्न नसक्ने गरी ठप्पै गरिदिन्छौं । छिनेडाँडास्थित सुकुम्बासी टोलका बलवीर राना तत्काल काम अघि बढाइदिन माग गर्छन् । ‘हामीले मेयरको घरको सम्पत्ति मागेको होइन ।
राज्यले बनाएको नीतिअनुसारको काम अघि बढाइदेऊ भनेको त हो नि,’ उनले भने, ‘आफ्नै घरको दिने जस्तो गर्छन् ।’ समस्या तत्काल समाधान नभए संघर्ष चर्काउने उनीहरूको चेतावनी छ ।
आयोगका कास्की अध्यक्ष गंगा पोखरेलले महानगरले सम्झौता नगरेको बताए । ‘अन्नपूर्णबाहेक अरु पालिकाले सम्झौता गरिदिएनन् । सम्झौता नगरीकन काम अघि बढ्दैन,’ उनले भने, ‘छिटो सम्झौता गरिदिन आग्रह गरेका छौं ।’ महानगरले भने प्रक्रियागत रूपमा काम भइरहेको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij