सुरञ्जन घिमिरे
काठमाडौं पसेको सुदर्शनले काम पायो ।
तर, यसका लागि ऊ विभिन्न पत्रिकाका कार्यालय नचहारेको होइन ।
गाउँमा छँदै फेसबुकमा चिनजान भएका एकजना दाइले काठमाडौंमा कामको प्रवन्ध मिलाइदिने भए ।
गाउँमा छँदा कथासथा लेख्ने गरेको सुदर्शनलाई नेपाली टाइपिङ आउँछ भन्ने बुझेपछि एक अनलाइन मिडियाका सम्पादकले काम दिने भए ।
‘हार्ड न्युज, फिचर सबै गर्छौ नि ?’ सम्पादकले सोधे ।
‘अलेली आउँछ सर, सिक्दैछु,’ सुदर्शनले जवाफ दियो ।
सेलरी सुरुमा १० हजार तीन महिनासम्म काम सिकेपछि बढ्ने । बिहान १०:३० देखि साँझ ६ बजेसम्म काम गर्नुपर्ने ।
तीनपटक चिया र दिउँसो खाजाको व्यवस्था रहेको पनि सम्पादकले सुनाए । यस्तो सम्झौता भयो सम्पादक र सुदर्शनबीच ।
‘त्यसो भए भोलिदेखि काममा आउनु,’ सम्पादकले भने ।
‘आज मेरो अफिस छ, अलिक छिट्टै खाना बनाई राख्नु ल,’ रुमपार्टनर हर्षलाई सुदर्शनले गर्वसाथ सुनायो ।
‘होइन के भन्नुहुन्छ तपाईं ? के को अफिस ?’ सिरकभित्रबाटै हर्षले आश्चर्य पोखे ।
‘अनलाइन मिडिया हो क्या अनलाइन पत्रिका,’ संक्षेपमा सुदर्शनले सुनायो ।
बाटाभरि अफिसबारे मनमा कुरा खेलाउँदै सुदर्शन कलेजतिर लाग्यो । काम गरेपछि पैसा आउँछ, आफूसँग पैसा भएपछि कलेज जाँदा बसलाई भाडा तिर्नेबेलामा गाउँकै प्लसटुको कार्ड डराइडराई देखाउँदै भाडामा किचकिच गर्नुपर्दैन ।
क्यान्टिनमा चिया खान बस्दा किक्रिक्क परेर सानो मुख लगाएर बस्नु पर्दैन, मन परेका किताब, स्टेशसनरी र आवश्यक सामान किन्न सकिन्छ ।
पैसा सक्किएकोथ्यो भन्दै घरमा बाआमालाई सुनाइरहन पर्दैनथ्यो .......
खुसीले मनमनै धेरै सपना सजायो सुदर्शनले ।
कलेजबाट अलिक छिट्टै कोठा फर्कियो । साथीले खाना बनाइरहेका थिए ।
‘पसलमा आठ सय पुगेछ,’ हर्षले खाना खाइरहेकाबेला सुदर्शनलाई सुनायो ।
‘ठिकै छ तिरुँला नि के छ र,’ सुदर्शनले भन्यो, ‘जागिर भएपछि पैसाको टेन्सनै हुँदैन नि ।’
सुदर्शन अफिसका लागि निस्कियो ।
अफिसको नियमअनुसार जुत्ता खोलेर भित्र पस्दा मोजा गनाएको भान सुदर्शनले पायो ।
ओहो ! बल्लबल्ल अफिस आइपुगेको सुदर्शन आफ्नै मोजा गन्हाएपछि बिलखबन्दमा पर्यो ।
अस्ति शनिबार मात्र उसले भोटाहिटी छेउको आकाशेपुलमा सयको ३ जोर किनेको हो मोजा ।
‘मे आइ कमिन सर,’ सुदर्शनले आज्ञा माग्यो ।
‘आउ न आउ सोध्न पर्दैन,’ सम्पादकले ल्यापटको स्क्रिनबाट एकग्रता भंङ गर्दै सुदर्शनतिर हर्दै भने ।
खाना खानेबित्तिकै हिँडेर आएकाले सुदर्शनको पेट चसक् चसक् खोचिरहेको थियो ।
सम्पादकले सुदर्शन बस्ने कुर्सी देखाइदिए ।
‘अहिलेलाई यो कम्युटर बिग्रिएको छ । लाउ तिमी यही ल्यापटपबाट काम गर,’ सम्पादकले एउटा ल्यापटक दिँदै सुझाए, ‘ल के आइरा’ छ एस्सो हेरेर बनाउ है ।’
न्युज रुममा अरु तीनजना काम गरिरहेका थिए । बुद्धिचाल ओस्ताजहरू प्रतिष्पर्धामा रहेजस्तै । बडो धिर र सोचमग्न ।
ल्यापटप अन गरेर एसो टाइप गरिहेर्यो सुदर्शनले । पुरानो जेनेरेशनको ल्यापटप भएकाले टाइप गर्दा मात्राहरू मिलाउन अलिक कसरत गर्नुपरिरहेको थियो उसलाई ।
एक्कासी कर्याक्क आवाज आउँछ ।
ती तीनजना सबैको नजर सुदर्शनतिर पर्छ ।
‘ऐया, ऐया, ऐया... खोइ, खोइ, खोइ,’ कुसीको खुट्टा भाँच्चिएर लगभग उत्तानो टाङकै अवस्थामा पुगेको सुदर्शनलाई सम्पादकसहित ती साथीहरुले सम्हाल्छन् ।
अलिक विस्तारै बस्नुपर्छ भाइ, यो कुर्सीको एउटा खुट्को चक्का थोरै बिग्रेको छ,’ सम्पादकले सुदर्शनकै टेबल छेउको ल्याण्डलाइनमा नम्बर डायल गर्दै भने, ‘शोरुममा बनाउन मेकानिक पठाइदे भनेको खोइ आज चाहिँ आइपुग्छ कि ।’
टेलिफोनको तार अलिक बढी तानिएछ । खन्द्र्याङ्ङ गरेर भित्ताबाट पङ्खा खस्न पुग्छ !
कसो सुदर्शनको टाउकोमा बजारिएन !
‘हेत्तेरिका हिजोआजका इलेक्ट्रिसियन पनि कस्ता काम चलाउ है ! यो पङ्खा राम्रोसँग फिट गर है भनेको त्यत्तिकै अल्झाएर मात्रै हिँडेछन् । खसेर झण्डै टाउको फुटाएन !’ सम्पादक कर्कशपूर्ण लयमा कराए ।
‘हेलो यो कुर्सीको चक्का बनाइदिन्छु भन्नु भएको होइन ? खोइ कहिले बनाइदिनु हुन्छ ?’ सम्पादकले फोनमा भने ।
उताबाट खइ के के भने । सुनिएन ।
‘शनिबार आएर बनाइदिन्छ अरे,’ सम्पादकले सुदर्शनलाई ढाडस दिए, ‘अहिलेलाई यत्तिकैमा होस गरेर बस्दै गर है ।’
सम्पादकले पङ्खा फिटिङका लागि फेरि अर्को ठाउँमा फोन लगाए ।
उताबाट खोइ के भने, सम्पादकले खसेको पंखा सरक्क टिपे । टुपिनबाट प्लक निकालेर छेउको दराजको टाउकामा राखे ।
‘आजकलको चाइनिज पंखाहरू कुनै गत्तिलो छैन । सत्रसय हालेर किनेको पंखा सत्रदिन पनि नघुमी बिग्रियो,’ सम्पादकले सुस्केरा हाले ।
एकजना दिदीले अफिसमा सबैलाई चिया ल्याइन् ।
‘ल च्या खाउँ है,’ नयाँ भएकाले विशेष सुदर्शनतर्फ संकेत गर्दै सम्पादकदे भने ।
अफिसमा चिया खाँदै गर्दा सुदर्शनले अहिलेसम्मका सबै हैरानीलाई बिर्सियो ।
मेरो अफिस भयो, मेरो ठेगाना भयो, अब मेरो साथीसर्कल बन्छ, लेख्न-बोल्नका लागि एउटा आधार तयार हुन्छ..... यस्तै सोच्दै गमक्क पर्यो सुदर्शन ।
यस्तै सोच्दा–सोच्दै पाँच बज्यो । पेट पुरै खाली भएर नाइटोदेखि नाकसम्म सिधा सास कुदेको भान भयो उसलाई ।
सम्पादकसँग हिजो कुरा हुँदा त चिया खाजा भन्ने शब्द पनि कतै उच्चारण भएको थियो भन्ने सुदर्शनले सम्झियो । तर अत्यधिक भोकले रिँगटा चल्ने अवस्थामा पुगेको उसले हिजोका सम्झौता सम्झिन सकेन ।
सुदर्शनले काम सिक्दै गयो, काम गर्दै गयो ।
बिहान कलेज, कोठा, अफिस गर्दै-गर्दै उसले काम गरेको पहिलो महिना पुरा भयो ।
तर उसको सेलरी आएन ।
‘होइन दाइ महिना त मरिसक्यो । तर सरले सेलरीबारे केही भन्नुहुन्न त ?’ सुदर्शनले छेउका सहकर्मीसँग आश्चर्य भावमा सोध्यो ।
‘यस्तै हो नि भाइ मिडियामा सेलरी काँ भन्नेबित्तिकै आउँछ, टाइम लाग्छ नि,’ दाइले मानौं मिडिया हाउसको सनातन र शाश्वत रहस्योद्घाटनको शैलीमा विस्तार लगाए ।
‘सर मेरो सेलरी,’ केही दिनपछि सुदर्शनले सम्पादकसँग कुरा राख्यो ।
‘विज्ञापनको पैसा उठिरहेको छैन भाइ । अहिले अनलाइन धेरै खुलेकाले कम्पिटिसन धेरै भइसक्यो,’ सम्पादकले भने, ‘म पैसा उठाउने प्रयासमा छु, यो महिनाभरिमा उठिसक्छ होला ।’
मिडिया हाउसको सञ्चालन मन्त्रको ज्ञान नभएको सुदर्शनले सम्पादकको पुरा कुरा बुझ्न सकेन । ट्वाल्ल परेर सम्पादकको अघि बसिरह्यो ।
ऊ केही नबोलेपछि सम्पादकले थप्यो, ‘अर्को महिनादेखि चाहिँ सेलरी टाइममा नै हुन्छ । यो महिनामात्रै साह्रो परेको हो । जाउ गएर राम्ररी काम गर ।’
सुदर्शन उही चक्का फस्किएको कुर्सीमा बस्यो ।
कोठा छेउको पसलको बाँकी सम्झियो । कलेज जान माइक्रोमा भाडा तिरेको सम्झियो । लगाइ राखेको रंग खुइलिएको आफ्नै सर्टलाई हेर्यो ।
यो महिनाको सेलरी पक्कै आउला । त्यसपछि यो भन्दा राम्रो मिडिया हाउसमा काम गर्नेछु । सुदर्शन दृढ देखियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij