Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

स्थानीय चुनावमा एमाले बाहेकसँग गठवन्धन हुनसक्छ : सुरेन्द्र लामा [अन्तर्वार्ता]

स्थानीय चुनावमा एमाले बाहेकसँग गठवन्धन हुनसक्छ : सुरेन्द्र लामा [अन्तर्वार्ता]

  • 1.6K
    SHARES
  • स्थानीय चुनावमा एमाले बाहेकसँग गठवन्धन हुनसक्छ : सुरेन्द्र लामा [अन्तर्वार्ता]

    स्थानीय तहको चुनाव आउँदै गर्दा सत्तारूढ गठवन्धनबीच तालमेलको चर्चा भइरहेको छ । यद्यपी सत्ता गठवन्धनकै नेपाली कांग्रेसमा एक्लै चुनावमा जानुपर्ने आवाज जोडतोडले उठेको छ । खासगरी कांग्रेसको संस्थापनइतर पक्ष गठवन्धनको विरोधमा देखिएको छ । सत्तामा सहभागी दलमध्ये नेकपा माओवादी, जनता समाजवादी र एकिकृत समाजवादी पार्टी भने गठवन्धनतर्फ केही लचिलो देखिएका छन् ।

    पार्टीहरूले स्थानीय तहको चुनावमा गठवन्धन गर्ने वा नगर्ने निर्णयको अधिकार जिल्लालाई दिने बारेमा पनि छलफल अघि बढाएका छन् । औपचारिक रूपमा गठवन्धनमा जाने वा नजाने भन्ने स्पष्ट नभएकै बेला नेकपा एस सर्लाही जिल्ला कमिटीले चुनावमा गठवन्धन गर्नका लागि वार्ता कमिटी नै गठन गर्यो । आइतबार पार्टीको विस्तारित पदाधिकारी बैठकले गठवन्धन सम्बन्धमा आधिकारिक निर्णय गर्न जिल्ला अध्यक्ष सुरेन्द्र लामाको संयजकत्वमा वार्ता कमिटी गरेको हो ।

    राजनीतिमा लामो पृष्ठभूमि भएका लामा असल र स्वच्छ छविका नेता मानिन्छन् । चुनावी गठवन्धनका सम्बन्धमा केन्द्रको आधिकारीक धारणा के छ ?, जिल्ला तहमा कुन–कुन दलसँग गठवन्धन हुनसक्छ ?, पार्टी एक्लै चुनावमा जाँदा के हुन्छ ? लगायतका विषयमा नेकपा एसका जिल्ला अध्यक्ष एवं गठवन्धनका लागि वार्ता गर्न गठित समितका संयोजक लामासँग वेबटिभी खबरले गरेको कुराकानीको अंश :

    चुनावी गठवन्धनबारे केन्द्र अन्योलमै हुँदा तपाईंहरूले जिल्लामा वार्ता कमिटी गठन गर्नु भयोे । केन्द्रकै नीतिअन्तर्गत गठवन्धन गर्न लाग्नु भएको हो ?

    केन्द्रबाट नै मिलेर जाने निर्णय गर्दा अझ राम्रो हुन्छ । केन्द्रमा सत्ता गठवन्धनका नेताहरूले मिलेर जाने निर्णय गर्नु हुन्छ भन्ने विश्वासमा पनि हामी छौं । कुनै कारण केन्द्रमा मिल्दैनन भने पनि हामी आफ्नो तहमा गठवन्धन गरेर जान्छौँ ।

    त्यसका लागि विभिन्न पार्टीहरूसँग पनि सघन खालका छलफलहरू भइरहेका छन् । चुनावमा गठवन्धन गरेरै जाने हिसाबले वार्ता कमिटी गठन गरेका हौँ । केन्द्रको निर्देशन भन्दा पनि सर्लाही जिल्लामा स्थानीय तहको चुनावमा गठवन्धन आवश्यक छ भन्ने कुरालाई महशुस गरेर हाम्रो पार्टीले वार्ता कमिटी गठन भएको हो । केही कारणले केन्द्रमा नमिले पनि जिल्लास्तरमा मिलेर जानुपर्छ भन्ने उद्देश्यका साथ हामी अघि बढेका छौँ । हामी जिल्लास्तरमा गठवन्धन गरेर जान चाहान्छौ भनेर केन्द्रका नेताहरूलाई जानकारी गराएका छौँ । उहाँहरूले केन्द्रीयस्तरबाटै गठवन्धन गर्ने प्रयासमा भइरहेको बताउनु भएको छ । स्थानीय तहमा पनि गठवन्धन गर्न केन्द्रबाट हामीलाई छुट छ । पार्टीको सुझाव लिएरै हामीले औपचारिक निर्णय नै गरेर गठवन्धन गर्न वार्ता समिति बनाएका हौं ।

    गठवन्धनका लागि अन्य पार्टीसँग वार्तालाई कसरी अघि बढाउनु हुन्छ ? केही खाका बनाउनु भएको छ ?

    अहिले हामीले केन्द्रमा भएकै गठवन्धनअनुसार जिल्लामा पनि सँगै जाउँ भनेर नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा लगायतसँग प्रस्ताव गर्ने हो । खासगरी यी दलसँगै सहकार्य गरेर जान सक्ने सम्भावना धेरै छ । अब गठवन्धनको संस्कारलाई विकास गर्नुपर्छ र नेपालको सन्दर्भमा परिवर्तनकारी शक्तिबीच सहकार्य हुनु जरूरी पनि देखिएको छ । कुनै पनि अहंकारले नेपालको समृद्धि र जनताको चहाना पुरा गर्न सक्दैन । छोटो समयका लागि भए पनि राजनीतिक दलहरू सहकार्य गरेर अघि बढ्नुपर्छ । केन्दीय नेताहरूले पनि यो कुरामा ध्यान दिनुपर्छ । केन्द्रमा गठवन्धन हुँदैन भने पनि हामी जिल्ला तहमा हाम्रो तहबाट गर्न सक्ने कुराहरूमा जतिसक्दो लचिलो भएर सहकार्यमा जाने तयारीमा छौं । प्रजातन्त्र र लोकतन्त्रको नाममा ठग्ने र लोकतन्त्र, प्रजातन्त्र नै समाप्त पार्ने एमाले जस्ता पार्टीको विरूद्धमा मोर्चाबन्दी हुन्छ ।

    अन्य दलहरूले गठवन्धनमा रूचि देखाएका छन् ?

    केही नेताहरूका आ–आफ्नै खालका चाहनाहरू होलान तर म के देख्छुभन्दा सर्लाही जिल्लाका पार्टीहरू सहकार्य गरेर जाने मानसिकतामै छन् । केही नेताहरूका आ–आफ्नै दाबी र चाहना हुनसक्छ । त्यसमा केही भन्न सकिंदैन, दाबी जो कोहीले पनि गर्न सक्छ तर त्यो दाबी कति यथार्थको धरातलमा छ भन्ने कुरा हो । अहिलेको अवाश्यकता गठवन्धन हो । स्थानीय चुनावमा हामीले मिलेर जानुपर्छ भन्ने कुरामा अधिकांश पार्टी सकारात्मक देखिएका छन् । छलफलमा बसेपछि सबै कुरा मिल्छन भन्ने विश्वास लिएको छु ।

    कुन–कुन दलसँग गठवन्धनको सम्भावना छ ?

    सर्लाहीमा नेपाली कांग्रेस, नेकपा माओवादी, जसपासँग सहकार्य हुने सम्भावना बढी छ । त्यसका लागि माओवादी केन्द्रसँग हामीहरूले सघन खालका छलफल पनि चलाइरहेका छौँ । नेपाली कांग्रेसका नेताहरू जिल्ला अधिवेशनमा व्यस्त भएकाले अहिलेसम्म छलफल गर्न पाएका छैनौँ । कांग्रेसको भर्खरै जिल्ला अधिवेशन सकिएर नयाँ नेतृत्व चयन भएको छ । निर्वाचनपछि आएको नयाँ नेतृत्वसँग बसेर छलफल गर्ने योजनामा हामी छौँ ।

    के एमालेसँग पनि गठवन्धन हुनसक्छ ?

    हामी अहिले नेकपा एमाले बाहेक अन्य जुनसुकै पार्टीसँग पनि गठवन्धन गरेर जानसक्ने गरी अघि बढेका छौँ । अहिलेको तात्कालीन अवस्थामा एमालेसँग सहकार्य गरेर जानसक्ने स्थिति छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीमा घमण्ड, अहंकार, अरूको अस्तित्व नस्वीकार्ने प्रवृत्ति छ । ओलीले यो बीचमा नेपाली जनताले रगतसँग साटेर ल्याएको लोकतन्त्र, गणतन्त्रको उपलब्धिलाई जुन ढंगले समाप्त गर्न खोजे त्यसविरूद्ध यो गठवन्धन बनेको हो । गठवन्धनले मुलुकलाई प्रतिगमनतर्फ लैजाने ओलीको प्रयासलाई विफल बनाएर जुन सकारात्मक काम गरेको छ, त्यसलाई केन्द्रीय तहका नेताहरूले पनि भुल्नु हुँदैन । केन्द्रीय नेताले नै यसलाई निरन्तरता दिनु राम्रो हुन्छ । यद्यपी राजनीतिमा विकल्प नै नहुने, यही नै हुन्छ भन्न सकिँदैन । राजनीतिमा जुनसुकै खालका विकल्पहरू पनि खुला हुनसक्छन् । यद्यपी अहिलेको हाम्रो रणनीति एमाले बाहेकका पार्टीहरूसँग सहकार्य र गठवन्धन गरेर जाने हो । अहिलेको अवस्थामा एमालेसँग सहकार्य गरेर जाने सम्भावना म देख्दिनँ ।

    देशभरमै सबैभन्दा धेरै स्थानीय तह भएको सर्लाहीमा तपाईंहरूको पार्टी गठवन्धनमा जाँदा कतिवटा तहमा प्रमुख पदको दाबी गर्छ ?

    अहिले हाम्रो पार्टीभित्र पनि विभिन्न विषयमा छलफल भइरहेका छन् । भर्खर वार्ता टोली बनेको छ । वार्ता टोलीले अन्य राजनीतिक दलहरूसँग वार्ताको प्रक्रियालाई अघि बढाउँछ । यथार्थ धरातलमा रहेर सबैको अस्तित्वलाई स्वीकार्ने गरी सहअस्तित्वको हिसाबले हामी अघि बढ्छौँ । ‘मेरो गोरूको बाह्रै टक्का’ भन्ने भावना राख्नु हुँदैन । अहिले नै हामीलाई यति चाहिन्छ भनेर दाबी गरेर अरूको भावना विरूद्ध जानुहुन्न भन्ने हाम्रो मान्यता हो । अहिले यति चाहिन्छ भनेर हामी दाबी गर्दैनाैं । यी सबै कुरा अन्य दलका साथीहरूसँग कुरा गरेर निर्धारण हुन्छन् ।

    गठवन्धन गरेर गएपछि कति स्थानीय तह जित्छौँ जस्तो लागेको छ ?

    यहाँ नेपाली कांग्रेस, माओवादी, मधेशकेन्द्रित पार्टीहरूको पनि राम्रै प्रभाव छ । यी सबैको अस्तित्वलाई स्वीकार गरेर हामी पनि मधेश प्रदेशमा बलिया छौँ । सर्लाहीमा हामी सबैभन्दा बढी बलिया छौँ । जनताको आकर्षण हामीसँग छ । त्यो आकर्षणका हिसाबले हाम्रो संगठन मजबुत छ र त्यो मजबुतिका आधारमा हामी आफ्नो दाबा राख्छौँ । दाबी राख्दै गर्दा अहंकार, घमण्ड र दम्भका आधारमा हैन्, यथार्थका आधारमा राख्छौं । हाम्रो मुल भावना सहकार्यका आधारमा मिलेर जाऔं भन्ने हो । यसैका आधारमा हामी पूर्ण लचकतासहित आफ्नो दाबी राख्छौं । मधेश प्रदेशमा हामीले राम्रै नतिजा हासिल गछौँ भन्ने हामीलाई विश्वास छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij