Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गैँडा स्थानान्तरण गर्न अध्ययन सुरु

गैँडा स्थानान्तरण गर्न अध्ययन सुरु

  • 569
    SHARES
  • गैँडा स्थानान्तरण गर्न अध्ययन सुरु

    चितवन । दुर्लभ एक सिंगे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ ।

    यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ भने, अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ ।

    अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैँडाको संख्या धेरै रहेको छ । ती गैँडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो । कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैँडा लैजाने विषयमा अध्ययन थालिएको छ ।

    विभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, कोसीटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, इकोलोजिष्ट गणेश पन्त, राष्ट्रिय प्रकृति संरक्षण कोषका नरेश सुवेदी, जेडएसएलका भगवानराज दाहाल, विश्व वन्यजन्तु कोषका कञ्चन थापा र सहायक इकोलोजिष्ट हेमराज आचार्य रहेको अध्ययन समिति बनाएको हाे ।

    समितिले चितवन र कोसीटप्पुको पहिलो चरणको अध्ययन गरेको छ । ढकालका अनुसार कोसीटप्पु, बर्दिया र शुक्लाफाँटामा गैँडा स्थानान्तरणको विषयमा अध्ययन भइरहेको छ । विज्ञ समूहहरू पठाएर थप अध्ययन गरिने उनको भनाइ छ ।

    अहिले बर्दियामा ३८ र शुक्लाफाँटामा १७, चितवन राष्ट्रिय निकुञ्जमा ६९४, पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैँडा रहेका छन् । चितवन र पर्सा जोडिएकाले गैँडा यताउता गरिरहने हुँदा गैँडाको संख्या घटबढ हुनसक्ने बताइएको छ । पछिल्लो गणनामा देशभरका यी निकुञ्जमा कूल ७५२ गैँडा रहेका छन् ।

    ढकालले तीन/चार महिनामा अध्ययन पूरा गरेर विभागमा प्रतिवेदन बुझाउने बताए । यो वर्ष अध्ययनमा समय लाग्ने भएकाले आउँदो वर्ष स्थानान्तरण गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘हतारमा हामी काम गर्दैनौं । विस्तृत अध्ययन गरेर सरोकारवालासँग छलफल गरेर टुंगो लगाउँछौं ।’

    कोसी गैँडाका लागि उपयुक्त देखिएमा प्रदेश नम्बर १ र मधेश प्रदेशका लागि पर्यटकीय गन्तव्यस हुने उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य निकुञ्जको पश्चिमी क्षेत्रमा जोखिममा रहेका गैँडा आन्तरिकरूपमा स्थानान्तरण गर्नुपर्ने देखिएकाले अध्ययन थालिएको बताए ।

    २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि केही ल्याउन सकिएको छैन । आचार्यले एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढेको जानकारी दिए । उनका अनुसार बासस्थानको बिस्तार गरी केही गैँडा पूर्व ल्याउन सकेमा उपयुक्त हुने बताए ।

    अध्ययन समितिले यो विषयमा विस्तृतरूपमा अध्ययन गर्दै छ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व लैजान लागिएको हो । निकुञ्जमा गैँडाको संख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन संख्याको आधारमा गर्न नसक्दा समस्या देखिएको छ ।

    विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले समितिले प्रतिवेदन दिएपछि मन्त्रालयले आवश्यक निर्णय गर्ने बताए । उनले भने, ‘सम्भवगत अर्को वर्ष स्थानान्तरण गर्ने गरी अध्ययन यो वर्ष सकिन्छ ।’ गैँडा, अर्ना, बाह्रसिङ्गे र कृष्णसार स्थानान्तरण गर्नका लागि अध्ययन थालिएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij