वेबटिभी खबर
दमक । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं-३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा बुधबारदेखि सुरुहुने मोफसलकै सर्वाधिक राशिको फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिले जनाएको हो ।
प्रतियोगितामा विदेशी चारसहित दश टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन अर्मी, मनाङ मर्स्याङ्दी, आयोजक दमक-११, बागमती युथ क्लवका साथै भारतस्थित गोर्खा ब्वाइज पुलिस, दार्जलिङको मानेभञ्ज्याङ फुटबल, कोलाकाताको दुर्गापुर सन्डे र क्यामरूनको एमिनियर फुटबल क्लबको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए ।
बुधबारदेखि सुरु हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । उद्घाटन खेलमा आयोजक दमक-११ र बागमती युवा क्लबबीच खेल हुनेछ । खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईका अनुसार खेल मैदानमा ५ हजारदेखि ७ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चौलागाईले जानकारी दिए । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २१ हजार दिइने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij