Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बिहारमा लगातार ‘रहस्यमय’ मृत्यु 

बिहारमा लगातार ‘रहस्यमय’ मृत्यु 

  • 492
    SHARES
  • बिहारमा लगातार ‘रहस्यमय’ मृत्यु 

    नयाँ दिल्ली । सीमावर्ती भारतको बिहार राज्यका केही जिल्लामा होली आसपासमा तीन दर्जनभन्दा बढीको लगातार मृत्यु भयो । भागलपुर, बाँका, मधेपुरा, बक्सर, सिवान र शेखपुरामा ४० जनाको मृत्युको कारण खुलेको छैन ।

    मृत्युको कारणबारे स्थानीयको भनाइ र प्रहरी रिपोर्ट फरक भएपछि मृत्युको कारण ‘रहस्यमय’ हुन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    होली आसपास भएका यी मृत्युका घटनाको वास्तविक कारण खुलेको छैन । विषालु मदिरा सेवनले मृत्यु भएको हुनसक्ने स्थानीयले बताएका छन् । तर प्रशासनले भने विरामी परेर मृत्यु भएको जनाएको छ । बिहार मदिरा निषेधित राज्य हो । 

    मृत्यु हुने कसैको पनि पोष्टमार्टम नगरिएकाले कसरी मृत्यु भयो भन्ने रहस्य नै रहन गएको हो । मृत्यु हुनेका परिवार र छिमेकीले भने होलीका बेला मदिराको प्रयोग बढेकाले त्यसैका कारण मृत्यु भएको हुनसक्ने बताएका छन् । 

    मृत्यु हुनुअघि सास लिन कठिन हुने, वान्ता हुने, पेट दुख्ने र रिंगटा लाग्ने लक्षण देखिएको मृतकका परिवारले बताएका छन् । तर बिहार राज्यमा मदिरा निषेध भएकाले प्रशासन भने बिमारीका कारण मृत्यु भएको बताउँदै आएको छ ।

    स्थानीयले मृत्यु हुने वित्तिकै दाहसंस्कार गरेका थिए । लगातार मृत्यु हुनेको संख्या बढेपछि प्रहरीले घटनाबारे बुझ्दा बिरामी परेर मृत्यु भएको रिपोर्ट सरकारलाई दिएको हो ।

    होलीका बेला गाउँमा मदिराको व्यापक कारोवार भएको र मदिरा सेवनबाट धेरै जना बिरामी परेको गाउँलेले बताएका छन् । मृतकको परिवारलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले मदिरा खाएर बिरामी परेपछि मृत्यु  भएको उल्लेख गरेका छन् । 

    बिहारमा मदिरा निषेध गरिए पनि प्रहरीले घुस लिएर अवैध रूपमा मदिरा बेच्न छुट दिने गरेको आरोप लाग्दै आएको छ । बिहारका विधानसभा सदस्य गोपाल मण्डलले सहजै मदिरा पाउनुमा प्रहरी जिम्मेवार भएको बताएका छन् । ‘मदिरा बेच्ने व्यक्ति र ठाउँसहित प्रहरीलाई फोन गर्दा पनि वास्ता नगरेको पाइएको छ,’ उनले भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # बिहार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij