वेबटिभी खबर
लमजुङ । लमजुङका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेँसीशहर नगरपालिकासँग दमकल मात्र छ । अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ ।
टाढा-टाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ भने दमकल रहेको नगरभित्रका पसल तथा कुनै घरमा आगलागी भएमा कहिले दमकल ढिलो पुग्ने त, कहिले समयमै पुगेपनि दमकलबाट पानी निकाल्न समय लाग्ने गरेको पाइएको हो ।
बेंसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले भने, ‘ठूलो आगोलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेको छ । प्राय स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगेपनि भौगौलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन ।’
आगलाागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मर्स्याङ्दी गाउँपालिकाका स्थानीय अजय तामाङले बताए ।
अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको रहेका छन् । राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले भने, ‘यहाँ आगलागी भइहाले बेँसीशहरकै दमकल मगाउने गरेका छौं ।’
दमकलको आवश्यकता महसुस गरेपनि खरिद भने नगरिएको उनको भनाइ छ । यस क्षेत्रमा आगलागीको जोखिम कम भएको र आगोलागी भइहाले बेंसीशहर नगरपालिकाकै दमकल प्रयोग गर्ने गरेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए ।
बेँसीशहर नगरपालिकाबाहेक अन्य ७ वटा स्थानीय तहले दमकल खरिद गर्ने कुनै तयारी नगरेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए । उनले भने, ‘सबै स्थानीय तहमा दमकलको जरूरी रहेपनि विषेश गरी सहरीकण भएको नगरपालिकामा बढी दमकलको आवश्यकता रहेको छ ।’
जिल्लामा सानो आगोलागी हुँदा दमकल विनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगेपनि दमकल पुग्न समय लाग्ने भएकाले क्षेती बढी हुने गरेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij