वेबटिभी खबर
पछिल्लो समय विश्वभर कोरोनाको दोस्रो, तेस्रो, चौथौं लहर चलिरहेको छ । पहिलोपटक चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसले विश्व भ्रमण गरेर दुःख दिने क्रम जारी राखेको छ ।
कोरोना भाइरस उत्परितर्तित भएर अहिले विज्ञानलाई नै चुनौती दिँदै एकपटक फेरि जोखिमपूर्ण वातावरण सिर्जना गरेको छ । कोरोनाको नयाँ रुप पहिलेभन्दा बढी संक्रामक रहेको विज्ञहरुले बताएका छन् । हाम्रो सानो लापरबाहीले हामी तत्काल संक्रमित हुन सक्छौं ।
बारम्बार हात धुने, स्यानिटाइजरको प्रयोग, निरन्तर मास्कको प्रयोग तथा सामाजिक दुरी कायम गर्नुका साथै सबैले नियमित खानामा पनि ध्यान दिन जरुरी छ । स्वस्थ खानाले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । रोग प्रतिरोधात्मक क्षमतामा विकास भएपछि कोरोनाबाट बच्न सक्छौं ।
विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना भाइरसबाट बच्नको लागि शरीरलाई चाहिने आवश्यक खाना तथा डाइट लिन जरुरी छ ।
के खाने ?
हामीले दिनहुँ खाने खाना तथा फलफूलबाट पर्याप्त मात्रामा शरीरलाई चाहिने भिटामिन, मिनरल्स, फाइबर, प्रोटिन र एन्टिअक्सिडेन्ट प्राप्त हुने हुनुपर्छ । जसले हामीलाई स्वस्थ तन्दुरुस्त राखी कोरोनाको जोखिमलाई पनि न्युनिकरण गर्छ ।
दिनमा कम्तिमा दुईवटा फलफूल, २.५ कप तरकारी, १८० ग्राम अन्नका साथै १६० ग्राम मासु खान सकिन्छ । हप्तामा एक वा दुईपटक रातो मासु र २ वा ३ पटक चिकेन खान सकिन्छ । बेलुकीको समयमा भोक लागेपछि काचो तरकारी वा ताजा फलफूल खान सकिन्छ । सागसब्जीलाई धेरै पकाएर खानु हुँदैन । धेरै पकाउँदा तरकारीमा भएको पौष्टिक तत्व नष्ट भएर जाने सम्भावना हुन्छ ।
स्वस्थ खानाका लागि निम्न कुरामा ध्यान दिन सकिन्छ
नुनको प्रयोग
विश्व स्वास्थ्य संगठनकाअनुसार एक व्यक्तिले दिनमा ५ ग्रामभन्दा बढी नुनको सेवन गर्नुहुँदैन । कोरोना भाइरसको कारणले धेरै क्षेत्रमा लकडाउन गरिएको छ । जसले गर्दा मानिसहरुले फ्रोजनयुक्त खानेकुरा बढी प्रयोग गरिरहेका छन् । कुनै पनि खानेकुरा किन्दा नुनको मात्रालाई ध्यानमा राखी खरिद गर्नुपर्छ ।
गुलियो कम खाने
दिनमा ६ चम्चाभन्दा बढी चिनी खानु स्वास्थ्यको दृष्टिकोणले उपयुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यदि कोही व्यक्तिलाई गुलियो बस्तु खान मनपर्छ भने ताजा फलफूल खान सकिन्छ ।
बोसोरहित खानेकुरामा जोड दिने
एक व्यक्तिले दिनमा कम्तिमा ३० प्रतिशतमात्र बोसो प्राप्त हुने खाना खानुपर्छ । अत्यधिक बोसोयुक्त खानाले विभिन्न किसिमका रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले हामीले जति सक्छौं बोसोरहित खानेकुरामा बढी जोड दिनुपर्छ । फलफूल तथा सागसब्जी खानु उत्तम विकल्प हो ।
फाइबरयुक्त खानेकुरा
दैनिक भोजनमा रेशादार (फाइबरयुक्त) खानेकुरा समावेश गर्नुपर्छ । पर्याप्त मात्रामा फाइबर प्राप्त हुने खानाः फुलफूल, गेडागुडी, दाल, साग, तरकारीले अनावश्यक तौल वृद्धिलाई नियन्त्रण गर्छ । फाइबरयुक्त खानेकुराले बारम्बार भोक लाग्ने समस्यालाई पनि निर्मूल पार्छ ।
पर्याप्त पानी पिउने
कुनै पनि रोगबाट बच्नको लागि सर्वप्रथम शरीरलाई आवश्यक पर्ने पानी पिउनु जरुरी हुन्छ । एक व्यक्तिले हरेक दिन कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्छ । धेरै चिसो पानी पिउनु हुँदैन । पानीमा कागती, काँक्राे मिसाएर पनि खान सकिन्छ ।
मौसम अनुकूल फलफूलमा जोड
मौसम अनुकूल फल्ने फलफूलमा जोड दिनुपर्छ । स्ट्रबेरी, भुँइकटहर, आँप बढी मात्रामा खानुपर्छ । किनभने यी खानेकुरामा भिटाभिन र फाइबर प्रशस्त हुन्छ । यस्ता फलफूल ताजा भए झन् उत्कुष्ट हुन्छ ।
सबै प्रकारका अन्न खाने
फाइबरको सबैभन्दा राम्रो स्रोतको रुपमा अन्नलाई लिइन्छ । त्यसैले गँहु, जौ, कोदो, फापर, मकैबाट बनेका खानेकुरालाई प्राथमिकता दिनुपर्छ ।
अन्डा
अन्डा प्रोटिन र पोषणका राम्रो स्रोत हो । यसलाई दैनिक खानामा समावेश गर्न सकिन्छ । तारेको भन्दा उसिनेको अन्डा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
खाना पकाउने समयमा निम्न कुरामा ध्यान दिने
खाना पकाउन अघि हात, भाँडा र भान्सालाई राम्रोसँग सफा गर्नुपर्छ,
काचो मासुलाई पकाइसकेको खानेकुराभन्दा अलग राख्ने,
खानालाई राम्रोसँग पकाएर खाने,
खाना बनाउने बेला शुद्ध पानीको प्रयोय गर्ने,
खानालाई उपयुक्त तापक्रममा राख्नुपर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij