मिलन दाहाल
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने नजाने विषयको पक्ष विपक्षमा छलफल भइरहँदा डा.कोइरालाले भने कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी चुनाव लड्नुपर्ने बताए ।
पार्टी मुख्यालय सानेपामा शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले गठबन्धन किन र केका लागि गर्ने ? भन्दै प्रश्न गरे ।
कांग्रेसले चितवन जिल्लामा २०५८-६० सालमा एक्लै चुनाव जितेको स्मरण गर्दै आगामी निर्वाचनमा एक्लै चुनाव लड्न कांग्रेस डराउन नहुने बताए । ‘कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?,’ कोइरालाले प्रश्न गरे, ‘गठबन्धन किन गर्ने र केका लागि गर्ने ? रूष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्ने ?’
गठबन्धन नगर्दा एमाले बलियो हुने भनेर पार्टी सभापतिले नै भनेपछि कार्यकर्ताको मनोबल घट्ने उल्लेख गर्दै कोइरालाले कांग्रेसको नीति र सिद्धान्तलाई त्यागेर माओवादीलाई बोक्न नसकिने बताएका हुन् । बैठकमा गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणले सरकार बन्ने बेलामा नै तीनै तहको चुनावमा गठबन्धन हुने सहमति भएको बताएका थिए ।
खाणले बोलिकसकेपछि डा.कोइरालालाई जवाफ दिँदै प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले कांग्रेसको नीति र सिद्धान्त आफूले तोड्न नसक्ने बताए । ‘म कांग्रेसको नीति र सिद्धान्त कसरी तोड्न सक्छु ? कांग्रेसकै लागि जिवन अर्पेको मान्छे हुँ,’ देउवाले भने, ‘अहिले माओवादी बोक्यो भन्ने ? हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको होइन ? म पनि बालबाल जितेको हुँ ।’
गएको चुनावमा पनि गठबन्धन गर्नु हुँदैन भनेर हुन नसकेको प्रसग उल्लेख गर्दै देउवाले माओवादीलाई गिरिजाबाबुले ल्याएको बताए । हिजो गिरिजाबाबुलाई कसैले प्रश्न गर्न नसकेको पनि उनले स्मरण गराए । कांग्रेसको नीति र सिद्धान्तबारे आफूलाई कसैले सिकाउनु नपर्ने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij