Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

चुनावी तालमेलको निर्णय : असन्तुष्टि सम्बोधन गर्न कांग्रेसलाई चुनौती 

चुनावी तालमेलको निर्णय : असन्तुष्टि सम्बोधन गर्न कांग्रेसलाई चुनौती 

  • 617
    SHARES
  • चुनावी तालमेलको निर्णय : असन्तुष्टि सम्बोधन गर्न कांग्रेसलाई चुनौती 

    काठमाडौं । आसन्न स्थानीय चुनावमा सत्ता गठबन्धन दलसँग तालमेल गरेर जाने नेपाली कांग्रेसको निर्णयसँगै नेता तथा कार्यकर्ताको असन्तुष्टि आउन सुरु भएको छ ।

    कांग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको हो ।

    वडादेखि पालिका प्रमुखसम्मको तयारीमा लामो समयदेखि लागेका नेताहरु गठबन्धनको नाममा ‘सहिद’ हुन तयार छैनन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रीय समितिको निर्णयबाट खासगरी जिल्ला वा गाउँ तहमा बसेर रातदिन काम गर्ने नेता कार्यकर्ता बढी पीडित भएका छन् ।

    गठबन्धनमा जाने निर्णय गर्ने केन्द्रीय समितिका नेताहरु स्थानीय चुनावमा उम्मेदवार हुने संभावना निकै कम छ । प्रदेश वा संघीय सांसदको सपना देख्ने नेताहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय लादेकोमा धेरैको असन्तुष्टि छ । 

    गठबन्धनका नाममा केन्द्रमा रहेका शीर्ष नेताले प्रदेश वा संघीय निर्वाचन क्षेत्र छाड्नु परे सहजै मान्लान ? यो प्रश्न गाउँ तहबाट उठ्न थालेको छ । 

    चुनावमा उम्मेदवार बन्ने तयारीस्वरुप विगत ५ वर्षदेखि लगातार मेहनत गरेका नेताहरु गठबन्धनका नाममा बाध्यात्मक त्याग गर्नुपर्ने अवस्था आउने हो कि भन्ने त्रासमा छन् । एक पटक त्यागको अर्थ थप ५ वर्ष पछि पर्नु हो । अर्काे ५ वर्षमा अवस्था र चुनौती फेरिनसक्छ । यी सबै कारणले ठाउँ ठाउँबाट गठबन्धनविरुद्ध आवाज उठिरहेको छ ।

    केन्द्रीय समिति बैठकमा पनि डा.शेखर कोइराला पक्षधरले गठबन्धन गर्न नहुने अडान राखेको थियो । तर, पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यो निर्णयलाई जवर्जस्ती लादेर निर्णय गराए । 

    सत्ताघटक पार्टीहरुसँग चुनावी तालमेल गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै पश्चिम रुकुमका कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले पार्टीको ध्यानाकर्षण गराएका छन् । गठबन्धन गर्ने निर्णय भएसँगै काठमाडौं आएका ओलीले नेताहरु भेटेर उक्त निर्णयप्रति असन्तुष्टि प्रकट गरेका हुन् । 

    स्थानीय चुनावका लागि उत्साहित भएका नेता कार्यकर्ताहरु पार्टीको निर्णयले असन्तुष्ट बनेको भन्दै उनले पार्टीको ध्यानाकर्षण गराएका हुन् । 

    पार्टीले स्थानीय नेता कार्यकताको इच्छा विपरीत निर्णय गरेको ओलीले बताए । केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयनमा जाने कुरामा अझै पनि द्धिविधा छ । कांग्रेसले चलाएको घर घर जाउँ, कांग्रेस जिताऔं अभियानमा नेता कार्यकर्ता कुदिरहेका छन् । कांग्रेस जिताउन यो अभियानमा जुटेका नेता कार्यकर्ताले चुनावका बेला अर्काे पार्टीलाई भोट माग्नु पर्दा कस्तो महशुस गर्लान ? 

    असन्तुष्टि आउन नदिन पार्टी सचेत छ : सन्जय गौतम, केन्द्रीय सदस्य नेपाली कांग्रेस

    चुनावी तालमेल गर्न हुन्छ कि हुँदैन भन्ने विषयमा कांग्रेसभित्र सुरुदेखिनै दुई किसिमको दृष्टिकोण रहेको उनले बताए ।

    उनका अनुसार केन्द्रबाट संस्थागत रुपमा निर्णय गरेर गठबन्धनलाई लाद्दा कांग्रेसभित्र असन्तुष्टिहरु आउँन सक्छ् भनेर नै पार्टीले स्थानीय आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । 

    चुनावी तालमेलबारे स्थानीय तहबाट नै निर्णय गर्दा त्यहाँका नेता, कार्यकताहरुको समस्या समाधान हुने र उनीहरुको मनोभावनालाई पनि सम्बोधन गर्न सकिने भएका कारण पार्टीले स्थानीय औचित्य र आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको उनले बताए । 

    ‘जुन स्थानीय तहमा पार्टीका नेता कार्यकर्ताहरु एक्लै चुनाव लड्ने मनस्थितिमा छन् ,उनीहरुमा यो निर्णयले प्रतिकुल असर पर्न सक्छ,’ उनले भने, ‘तर स्थानीय तहबाट छलफल गरेर निर्णय गर्न सकियो भने समस्याहरुलाई न्यूनीकरण गर्न सकिन्छ ।’ 

    पार्टीका साथीहरुमा असन्तुष्टि आउन नदिन पार्टी सचेत रहेको उनले बताए । चुनावी तालमेल गर्ने कुरा चुनौतिपूर्ण भएपनि पार्टीका साथीहरुको मानमर्दन नहुने गरी गठबन्धनका पार्टीको इच्छालाई ध्यानमा राखेर मिल्नुपर्ने ठाउँमा मिलेर जानुपर्ने उनको भनाइ छ । 

    गठबन्धनबाहेकका अन्य पार्टीसँग चुनावी तालमेल गरेर जाने कुरा केही स्थानीय तहमा उठेपनि पार्टीले गठबन्धन बाहेका अन्य दलसँग चुनावी तालमेल गर्ने कुरालाई छुट नदिएको उनले स्पष्ट पारे । चुनावी तालमेल गर्ने विषयमा कांग्रेस मात्र इमान्दार भएर नहुने उनले बताए । 

    पार्टीको शीर्ष नेताहरुको मनोभाव स्थानीय तहमा मात्र नभएर तीनै तहको चुनावसम्म गठबन्धन गरेर जाने उल्लेख गर्दै उनले पार्टी पद्दतीमा चल्ने भएकाले यसलाई स्वीकार्नुपर्ने उनी बताउँछन् । 

    उनले भने, ‘पार्टीका साथीहरुको भावनालाई बुझेर उनीहरुको मानमर्दन नहुने गरी पार्टीले निर्णय गर्छ । सबैलाई व्यवस्थापन गर्नेगरी निर्णय हुन्छ ।’

    पार्टीले सबै ठाउँमा तालमेल गर्नुपर्छ भनेका छैन् : रामहरी खतिवडा केन्द्रीय सदस्य नेपाली कांग्रेस

    आसन्न स्थानीय चुनावमा पार्टीले सबै स्थानीय तहमा चुनावी तालमेल गर्नुपर्छ नभनेको कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले बताए । कांग्रेस पार्टी कसैको बैशाखी टेकेर सत्तामा पुग्ने पक्षमा नरहेको उनले स्पष्ट पारे ।

    यसअघिको चुनावमा कसैको साथ विना कांग्रेसले जितेका ठाउँहरुमा चुनावी तालमेल नहुने उनी बताउँछन् । ‘यस्ता ठाउँहरु पनि छन् जहाँ गठबन्धनका कुनै पनि पार्टी बलिया छैनन्,’ उनले भने, ‘त्यस्ता ठाउँहरुमा जनताको मत कसको पक्षमा धेरै छ त्यसलाई आधार मानेर चुनावी तालमेल गरेर जाने हो ।’

    सबै ठाउँमा गठबन्धन गरेर पार्टीका कार्यकर्ता सिध्याउने नीतिमा कांग्रेस नरहेको उनको भनाइ छ । आवश्यकता र औचित्यका आधारमा स्थानीय तहलाई चुनावी तालमेल गर्न सक्ने अधिकार पार्टील दिएको उल्लेख गर्दै उनले भने, ‘पहिलो प्राथमिकता गठबन्धनभित्रै चुनावी तालमेल गर्ने हो । त्यस्तो हुन नसकेको अवस्थामा स्थानीय तहले आवश्यक्ता र औचित्य जे देख्छन् त्यही गर्न सक्छन् ।’

    स्थानीय चुनावका लागि विगतका वर्षदेखि पार्टीमा सक्रिय रहेका र कार्यकर्ताको रोजाइमा परेका व्यक्तिलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गरिने उनले बताए ।

    चुनावी तालमेल गर्ने कुरामा असन्तुष्टि आउन थालेकाे छ : अजयबाबु शिवाकोटी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस 

    अहिलेको सत्ता गठबन्धनसँग मात्रै तालमेल गरेर जाने कुराले पार्टीको राजनीति नै सकिन्छ भन्ने आशयका कुराहरु पनि जिल्लास्तरीय नेतृत्वबाट आउन थालेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बताउँछन् । 

    कर्णाली प्रदेशका विभिन्न जिल्लालहरुबाट असन्तुष्टिहरु आउन थालेको उनले बताए । गठबन्धनका नाममा माओवादीले पहिलादेखिनै जित्दै आएका ठाउँहरु उनीहरुलाई नै दिने हो भने कांग्रेसको अस्तित्वमा नै संकटमा पर्ने कुराहरु पनि उठ्न थालेको उनले उल्लेख गरे ।

    चुनावी तालमेल गरेर जाँदा त्यहाँ नेता कार्यकर्तालाई पर्ने असर हटाउने मोडालिटी अग्रज नेताहरुले नै बनाउनु पर्ने उनले भनाइ छ । 

    उनले भने, ‘चुनावी तालमेल गरेर जाँदा स्थानीय तहका नेता कार्यकर्ताहरुले विकल्पहरु खोज्न सक्छन् । यो कुरालाई पार्टी नेतृत्वले गम्भिरतापूर्वक लिन जरुरी छ ।’

    यस्ता निर्णयले पार्टीलाई भविष्यमा संकुचित बनाउँछ : पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक 

    गठबन्धन गरेर चुनावमा जाने निर्णयले भावि दिनमा पार्टीलाई संकुचित बनाउने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।

    पार्टीले विधानमा भएको व्यवस्था अनुसार नै चुनावी तालमेल गरेपनि यसले भविष्यमा पार्टीलाई खुम्च्याउँदै लैजाने उनले बताए । यसअघि भएका राष्ट्रिय चुनावी तालमेलले कांग्रेसलाई राम्रो परिणाम नदिएको उनको भनाइ छ । 

    तालमेल गरेर जाँदा कांग्रेसका मात्र नभएर सबै पार्टीका नेता कार्यकताहरुले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने उनले औंल्याए ।

    प्रजातान्त्रिक पद्दतीमा तालमेल नगरी चुनावमा जाँदा सबैभन्दा राम्रो हुने उनले बताए । ‘एक्लै चुनावमा जान सक्ने अवस्था नभएपछि पार्टीहरुले गठबन्धन गरेर जानुपर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘राजनीतिमा तालमेल गरेर जाने कुरा चलनचल्तीको भने हो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij