Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

अधिकारका लागि एक्लै सडकमा उत्रेका चिकित्सक   

अधिकारका लागि एक्लै सडकमा उत्रेका चिकित्सक   

  • 1.5K
    SHARES
  • अधिकारका लागि एक्लै सडकमा उत्रेका चिकित्सक   

    काठमाडौं । करिब २४ दिनदेखि घामपानी, आँधिहुरी केही नभनी अस्पतालको दैनिक काम सक्काएर बेलुकीको ठिक पाँच बजे माइतीघर मण्डलामा डाक्टरको पहिरनमा उभिरहेका हुन्छन् एक व्यक्ति ।  एप्रोन लगाएको एक व्यक्ति बिच सडकमा उभिरहेको देख्दा सबैको ध्यान उनीतिर खिचिन्छ । अस्पतालमा हुनुपर्ने चिकित्सक सडकमा किन भन्ने उनलाई देख्ने धेरैको जिज्ञासा हुन्छ । उनको नजिक जाँदा हातमा बोकेको प्लेकार्डमा उनका माग स्पष्ट पढ्न सकिन्छ । 

    images

    उनको हात तथा शरीरको पछाडिको भागमा ‘मेरो कोभिड-१९ को भत्ता हराएको सूचना, कृपया पाउने महानुभावले ९८४१६८००१९ मा सम्पर्क गरिदिनुहोला । सेनिटाइजर र सामाजिक दुरी कायमै छ । तर तपाईंको नियत कायम छैन ।’ भनेर ठूला अक्षरमा लेखिएको देखिन्छ । अस्पतालको काम सकिएपछि चिया खान छुट्याइएको समयमा विगत २४ दिनदेखि ठिक पाँचबजे माइतीघर मण्डलामा पुग्छन् उनी । केहीदिनदेखि यो उनको नै दैनिकी बनेको छ । 

    को हुन् उनी 

    उनी हुन् विगत दुई वर्षदेखि स्वास्थ्य सेवामा खटिएका डा.अजित मल्लिक । देशमा कोरोनाकहरको भयाभह स्थिति हुँदा उनी त्रि. वि. शिक्षण अस्पतालको कोभिड वार्डमा दिनरात नभनी बिरामीको सेवामा तल्लिन थिए ।

    कोरोना संक्रमितको सेवा गर्दागर्दै उनलाई पनि कोराना संक्रमण भएर करिब दश दिन आइसोलेसनमा थलिनु परेको थियो  । आइसोलेसनमा बसेर कोरोनामुक्त भएपछि एघारौं दिनमा उनी पुनः बिरामीको सेवामा खटिए ।

    कोरोना संक्रमितको उपचारमा तल्लिन रहँदा सरकारले कोरोना महामारी खटिएका फ्रन्टलाइनरलाई बिमाका साथै जोखिम भत्ता दिने घोषणा गर्यो । यस खबरले उनमा काम गर्ने जोसजागँर झन् प्रबल भएर आयो ।

     उनले भने, ‘सरकारले फ्रन्टलाइनरलाई जोखिम भत्ता दिने घोषणा गर्यो । मैले सोचेको थिएँ दिनरात नभनी विरामीको सेवा गरेको सरकारले उचित मूल्याङ्कन गर्नेछ । तर त्यस्तो भएन । मैले अस्पताललाई बिमा गरिदिन आग्रह गर्दा विस्तारै गरिदिन्छौं भन्यो । बिमा पनि भएन । अनि मैले काम गरे वापत् पाउनु पर्ने जोखिम भत्ता पनि पाएको छैन । ’

    महामारीका बेला ज्यानको पर्वाह नगरि दिनरात खटिने चिकित्सकलाई सरकारले दिने घोषणा गरिसकेको सेवा सुविधाबाट पनि बञ्चित गराउनु न्यायोचित नभएको उनी बताउँछन् ।

    उनको माग

    विश्वमा नै पहिलोपटक देखिएको कोरोना भाइरसबारे कोहीपनि पूर्व तयारी अवस्थामा थिएनन् । कोरोना सबैको लागि नितान्त नौलौ भाइरस थियो । यस भाइरसबाट जोगिन अहिले पनि विश्वले कडा प्रयास जारी राखेको छ ।

    पहिलोपटक छिमेकी राष्ट्र चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसबाट नेपाल पनि बच्न सकेन । नेपालमा पनि गत माघमा कोरोना संक्रमणको पहिलो केस पुष्टि भयो ।

    यससँगै कोरोनाले सम्पूर्णमा एक किसिमको त्रास सिर्जना गर्यो । समयसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि भयो । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा बढोत्तरी हुने देखेपछि सरकारले गत १० चैतबाट देशव्यापी लकडाउन घोषणा गर्यो ।  

    देशमा लकडाउन भएपनि कोरोना संक्रमितको संख्यामा कमी आएन । कोरोना उपचारका लागि भनेर छुट्याइएका अस्पतालहरू कोभिडका बिरामीले खचाखच भरिए । यहि समयमा डा. मल्लिकले पनि अन्य स्वास्थ्यकर्मीले झैं बिरामीको सेवा गरे । उनले अहिले पनि बिरामीको सेवा गर्नमा कुनै कमी गरेका छैनन् । 

    सरकारसँग उनको एउटै माग छ- कोरोनाकहरमा ज्यानको बाजि थापेर काम गरेवापतको जोखिम भत्ता उपलब्ध हुनु पर्ने । उनले भने, ‘रातदिन नभनी सेवा गरेको मूल्याङ्कन हुनुपर्छ । पैसाको मात्र विषय होइन । कामको सम्मान हुन जरुरी छ । म रोडसम्म आउन पैसामात्र कारकतत्व होइन । म मानवताको लागि काम गर्छु । स्वास्थ्यसेवा भनेको मानवताको सेवा हो । तर सँधै एकोहोर सेवा गरेर मात्र पनि त सम्भव छैन । हामी स्वास्थ्यकर्मीको पनि घरपरिवार, साथीभाइ, इष्टमित्र सबै हुन्छन् । हाम्रा पनि आफ्ना रहर चाहना छन् । त्यसको परिपूर्तिको लागि दिनरात केही नभनी अस्पतालमा खटिन्छाैं । खोइ नेपाल सरकारले त्यसको मूल्याङ्कन गरेको ?’

    उनको गुनासो सरकारसँग भएकोले माग पूरा गर्न दवाबका लागि विगत २४ दिनदेखि माइतीघर मण्डलामा हरेक साँझ आएर उभिन्छन् । सरकारले श्रम शोषण गरेको उल्लेख गर्दै उनले डाक्टर र सुरक्षाकर्मीलाई काममा खटाउने तर सेवासुविधा  राज्यका माथिल्लो तहमा बसेकाले मात्र उपयोग गर्ने भइरहेको गुनासो गरे ।

    उनको अरूको जस्तो मागको ठूला सूची छैन । उनको एउटै आग्रह छ ‘जोखिम भत्ता देउ सरकार, म घर जान्छु ।’  डा.मल्लिक हाल सिभिल अस्पताल बानेश्वरमा कार्यरत छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम मन्त्रालयले पठाउनु पर्ने सबै जोखिम भत्ता पठाइसकेको बताउँछन् । कुन स्वास्थ्यकर्मी खटिएको छ र कति दिने भन्ने अस्पतालको कुरा भएको उनले बताए । 

    जोखिम भत्ता दिने निर्णय

    कोभिड-१९ को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश (२०७७ मा कोरोनाविरुद्ध खटिनेलाई जोखिम भत्ता उपलब्ध गराइने ) उल्लेख छ ।गत ९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतका दरले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology