वेबटिभी खबर
इलाम । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया भएको मानिन्छ ।
जिल्लाको तल्लो क्षेत्रमा चियाको मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो । माथिल्लो क्षेत्रमा भने चिया पलाउन सुरु भएको छ । दुई पात एक सुइरो भएको चिया टिप्न सबैभन्दा राम्रो मानिन्छ ।
गएको कात्तिकदेखि बाँझी बसेको चिया पुनः पलाउन थालेसँगै चिया टिपाइ सुरु भएको हो । यससँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारीसमेत थालेको बताइएको छ । केही कारखानाले उत्पादन पनि सुरु गरेका छन् ।
यसरी केही समयसम्म फुर्सदमा रहेका चिया बगान तथा कारखाना मजदूरको कार्य व्यस्तताले व्यस्त भएका छन् । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच बढाउन चियापत्तीको टिपाइ छिट्टै सुरु गरिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ ।
यस वर्ष समयमा नै पानी परेकाले चिया किसान हर्षित भएका छन् । जिल्लाका लेकाली क्षेत्रमा भने अझै पूर्णरूपमा चिया पलाउन सकेको छैन । गर्मी बढेका क्षेत्रमा चियापत्ती टिप्न सुरु गरिएको हो । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने भएकाले किसानले छिट्टै चियापत्ती टिपाइ सुरु गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij