Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दूधकोसी जलविद्युत् आयोजनाका लागि तीन जिल्लाको जग्गा अधिग्रहण गर्न सुरु

दूधकोसी जलविद्युत् आयोजनाका लागि तीन जिल्लाको जग्गा अधिग्रहण गर्न सुरु

  • 543
    SHARES
  • दूधकोसी जलविद्युत् आयोजनाका लागि तीन जिल्लाको जग्गा अधिग्रहण गर्न सुरु

    खोटाङ । दूधकोसी जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको ९ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।

    खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडा र ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका-६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्दैछ ।

    ओखलढुंगाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि गत फागुन २३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिए ।

    उनका अनुसार खोटाङको रावाबेँसी गाउँपालिकाका ५ हजार ३०४ कित्ता, ऐसेलुखर्क गाउँपालिकाका ५२२ कित्ता र ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिकाका २ हजार ४०९ कित्ता जग्गा अधिग्रहणको तयारी रहेको छ । सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गरिनेछ ।

    सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काममा रोक लगाइएको छ । खोटाङतर्फको जग्गा गत असार २३ गतेदेखि रोक्का गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।

    हलेसी तुवाचुङ नगरपालिका-८ धितुङमा निर्माण गरिने विद्युतगृह, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने बाँध र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित गरिएको छ । धितुङ र लामीडाँडामा थप २ हजार रोपनी जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।

    खोटाङमा मुआब्जा वितरण गर्न जग्गाको मूल्यांकन गर्ने काम अन्तिम चरणमा पुगेको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए ।

    लामीडाँडाको रभुँवाघाटस्थित कोसी किनारमा रहेको बजारमा २०० मिटर अग्लो बाँध निर्माण गरी बनाइने जलाशययुक्त जलविद्युत आयोजनाबाट १३.३० किलोमिटर हेडरेस सुरूङमार्फत धितुङमा पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ ।

    रभुँवाघाटमा निर्माण गरिने बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा १०, खोटाङतर्फको रावाखोलामा ८ र ओखलढुंगाको ठोट्नेखोला किनारमा ४ किलोमिटर क्षेत्रफल डुबान हुने बताइएको छ । दूधकोसी आयोजनाबाट ३ जिल्लाका १ हजार १५० परिवार प्रभावित हुने छन् ।

    खोटाङका ६५७, ओखलढुंगाका ४७९ र सोलुखुम्बुका १४ परिवार आयोजनाबाट प्रभावित हुने भएका छन् । जापान सरकारको सहयोगमा कोसी बेशिन अध्ययन गुरूयोजनाअन्तर्गत २०४२ सालमा पहिचान भएको दूधकोसी आयोजनाको काम अघि बढाउन सरकारलाई सिफारिस गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

    आयोजना बनेपछि विद्युतीय सेवासँगै दूधकोसी जलाशयमा डुंगा शयर, माछापालन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा हलेसी आउने पर्यटकलाई डुंगा शयर गराउन सकिने छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij