मिलन दाहाल
सत्ता गठबन्धनमा सहभागी दल (कांग्रेस, माओवादी, जसपा, नेकपा एस र राजमो)ले स्थानीय चुनावमा तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । पाँच दलीय गठबन्धन हुँदा त्यसको असर सीधै नेकपा एमालेलाई पर्ने आकलन गरिएको छ । पाँच दलको गठबन्धन मिलेर विना मतभेदा चुनावमा जाँदा स्वभाविक रूपमा बलियो हुने अनुमान गरिएको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै दल मिल्दा पनि आफ्नो पार्टी नै बलियो हुने दाबी गरिरहेका छन् । एमाले अध्यक्ष ओलीको दाबी कत्तिको विश्वसनीय छ ? यसै सेरोफेरोमा रहेका गत स्थानीय चुनावमा एमालेको कमजोर उपस्थिति देखिएको मधेश प्रदेशका पार्टी उपाध्यक्ष रेवती पन्तसँग गरिएको कुराकानीको अंश:
पार्टी विभाजन भएपछि मधेश प्रदेशमा एमालेको संगठन अझ कमजोर भएको हो ?
पार्टीका केही पुराना नेताहरू विभाजनतिर लाग्नु भएको छ । नेताहरू मात्र विभाजनमा लाग्नु भएको हो जनता र कार्यकता विभाजनमा लागेका छैनन् । विभाजनमा लागेका नेताहरू सेनाविनाका सेनापति जस्तो भएका छन् । त्यसैले एमाले कमजोर भएको छैन । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत
समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको गृह प्रदेश भएका कारण पनि त्यहाँ पार्टी विभाजनले एमालेलाई कमजोर बनाएको होला नि ?
२०७४ सालको स्थानीय निर्वाचनलाई हेर्दा माधव नेपालको गृह जिल्ला रौतहटमा सिंगो नेकपा एमाले हुँदासमेत एउटा पनि पालिका जितेको थिएन । अहिले त्यहाँ विश्लेषण गर्दा नेकपा माओवादीबाट जीतिरहेका सांसद प्रभु साह एमालेमा आउनु भएको छ । उहाँको प्रभाव राम्रो भएकाले नेकपा एमाललेलाई राम्रो भएको छ । माधव नेपाल एमालेमा हुँदा संगठनमा गतिशीलता थिएन । उनको चाकडी गर्ने झुण्डहरूको मात्र पार्टीमा रजाइँ थियो ।
माधव नेपालको बहिर्गमनपछि अहिले नेकपा एमालेभित्र डेमोक्रेसी आएको जस्तो देखिएको छ । त्यसले गर्दा ऊर्जाशील कार्यकर्ताहरूले अवसर पाएका छन् । पुरातन साेचका मान्छेहरू साइड लागेपछि नयाँ खालका प्रभावकारी मान्छेहरूले ठाउँ पाएका छन् । प्रभु साह पनि एमालेमा आएको स्थितिमा माधव नेपालको गृह जिल्ला रौतहटमै उनको हालत ‘पङ्चर’ छ भनेपछि मधेश प्रदेशका अरू जिल्लाको के कुरा गर्नु ?
गत स्थानीय निर्वाचनमा मधेश प्रदेशमा एमाले पाँचौ स्थानमा (१८ तहमा प्रमुख र १९ तहमा उपप्रमुख जितेको) थियो । यस पटक के आकलन गर्नु भएको छ ?
मधेश प्रदेशको इतिहासमै यसपटक एमालेप्रति व्यापक आर्कषण बढेको छ । मेरो ३०/३५ वर्षको राजनीतिक जीवनमा मैले एमालेप्रति यति धेरै मधेशी जनताहरू आकर्षित भएको पहिलो पटक देख्दै छु । एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा र उहाँको राष्ट्रियताप्रतिको अडान, उहाँले मधेशमा गरेका हुलाकी राजमार्गका विकास, मधेशका सदरमुकामहरूमा ल्याएका विकासका लहर, नेपाल–भारत सीमाना जोडिएका मधेशका पालिकाहरूमा विशेष बजेटको व्यवस्था गरेर आएको परिवर्तनका कामहरूले अहिले एमाले मधेश प्रदेशमा बलियो बनेको छ । मधेशवादी पार्टीलगायत अन्यले एमालेप्रति मधेश प्रदेशका जनताहरू समक्ष फैलाइएको भ्रम पनि चिरिएका कारण अहिले एमाले बलियो बनेको हो । यस पटकको स्थानीय चुनावमा मधेश प्रदेशमा एमालेले एतिहासिक जित हासिल गर्छ ।
कति पालिका जित्नुहुन्छ ?
अन्य पार्टीका मेयर उपमेयर लगायत धेरै नेता तथा कार्यकर्ताहरू अहिले एमाले प्रवेश गरिरहनु भएको छ । हाम्रो पार्टी कमिटी पनि व्यवस्थित छ । वडा अधिवेशन, नगर अधिवेशन, जिल्ला अधिवेशन भएर त्यसले चुस्तदुरूस्त रूपमा कामहरू पनि गरिरहेको छ । नेकपा एमालेले यसपटकको स्थानीय चुनावमा मधेश प्रदेशका ५० प्रतिशत पालिकाहरूमा जित हासिल गर्छ ।
मधेश प्रदेशमा हामीले स्थानीय चुनावलाई तीन हिसाबले विश्लेषण गरेका छौँ । पहिलो– सबै दलहरू एक ठाउँ भएपनि एमालेले एक्लै जित्न सक्ने स्थानहरू कुन–कुन हुन ? दोस्रो–अन्य पार्टी एमालेसँग कडा प्रतिस्पर्धामा जान सक्ने ठाउँहरू कुन–कुन हुन ? तेस्रो–हामीले जित्न नसक्ने स्थानहरू कुन–कुन हुन् ? भनेर हामीले समग्र मधेश प्रदेशको तथ्यगत विश्लेषण गरेका छौँ ।
हाम्रो विश्लेषणले के देखाएको छ भने सबै पार्टीहरू एकतिर भए पनि मधेश प्रदेशका ५० प्रतिशत पालिकाहरूमा एमालेको जित सुनिश्ति छ । त्यस्तै कडा प्रतिस्पर्धा हुने पालिकाहरूमा विजय सुनिश्चित कसरी हुनसक्छ भनेर हामीले थप योजनाहरू बनाएका छौँ । विजयी हुने स्थानलाई ५० प्रतिशतबाट कति बढाउन सकिन्छ ? त्यसमा हामी प्रयास गरिरहेका छौँ । तर ५० प्रतिशत भन्दा तल भने झर्दैन ।
सत्तामा सहभागी पाँच दलले स्थानीय चुनावमा गठबन्धन गरेर जाने निर्णय गरिसकेका छन् । यसले गर्दा एमाले थप कमजोर हुँदैन र ?
सत्तामा रहेका पाँच दलहरूको स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णयले एमालेलाई नभएर गठबन्धनलाई नै कमजोर बनाएको छ । संसारका विभिन्न देशहरूमा विपक्षी दलहरू सरकारमा बसेको पार्टीविरूद्धमा एक ठाउँमा उभिन्छन् । गठबन्धन गर्दछन् । तर हाम्रो देशमा भने एउटा प्रमुख प्रतिपक्षी दलविरूद्धमा पाँच दलले गठबन्धन गरिरहेका छन् ।
यसले के देखाएको छ भने उनीहरू एमालेसँग चुनावमा एक्लै लड्न सक्षम छैनन् । यसरी सत्तामा रहेका गठबन्धनका पाँच दलहरू गठबन्धन गरेर चुनावमा जानुले जनतामा के सूचना प्रवाह गरेको छ भने एमाले निकै बलियो पार्टी हो । चुनावमा जहिले पनि पहिलो दोस्रो हुँदै आएको नेपाली कांग्रेस पनि एमालेसँग एक्लै चुनावमा जान सक्दैन भने अरू पार्टीको के कुरा गर्नु ?
कांग्रेसले त्यसरी सम्पूर्ण गठबन्धन लिएर हिड्न खोज्नुले आफैंमा कांग्रेसीहरू मनोगत रूपमा खस्केको, एमालेसँग जुध्न, भिड्न नसक्ने अवस्थामा पुगेको भन्ने सन्देश जनता र कार्यकर्ता माझ गएको छ । फेरि सत्तारूढ दलहरूको गठबन्धन शीर्ष नेताहरूमा मात्र हो । स्थानीय तहमा गठबन्धन छैन । त्यो गठबन्धनलाई स्थानीय नेता, कार्यकर्ताले पनि मानिरहेका छैनन् । जनताले मान्न त कुरै भएन ।
कांग्रेस र अन्य पार्टीका नेता तथा कार्यकताहरूमा गठबन्धन विना हामी उभिनै सक्दैनौ भन्ने मनोवैज्ञानिक असर देखिएको छ । तर एमालेका नेता कार्यकर्ताहरूमा त्यस्तो असर परेको छैन । एमालेका कार्यकर्तामा गठबन्धन नभए पनि हामी जित्न सक्छौँ भन्ने मनोभावनाको विकास भएको देखिन्छ । युद्धमा जाने जो कोहीको पनि सहास र मानोभावना बलियो भयो भने उसले ५० प्रतिशत युद्ध त्यतिकै जित्छ । त्यस कारण एमाले बाहेक अन्य पार्टीहरूको मनोवल र साहस कमजोर देखिएको छ । कमजोर मनोवल बोकेका पार्टीलाई एमालेले चुनावमा सजिलै पछार्छ ।
गठबन्धन दलसँग लड्दा पनि एमाले मजबुत नै हुन्छ भन्ने आधार के हुन ?
जनताले भोट हाल्ने भएका कारण जनताको लगाव कुन पार्टीमा धेरै छ भन्ने कुरा नै पार्टी मजबुतिको पहिलो आधार हो । जनताको मानोविज्ञानलाई बुझ्दा देश विकास गर्ने एमाले बाहेक अरू राजनीतिक दल छैनन् । एमाले राष्ट्रियताको पक्षमा छ । गठबन्धन गरेर सत्तारूढ पार्टीहरूले राष्ट्रघाति एमसीसी पास गरे भन्ने कुरा पनि जनता माझ छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा जुन रफ्तारले विकासका कामहरू भएका थिए । गठबन्धनको सरकार आउने वित्तिकै त्यो रफ्तार स्वाट्टै घटेको अनुमान लगाउन सकिन्छ । र त्यो अनुभूति जनताले पनि गरेका छन् । त्यसकारण तीन तहमा एमालेको सरकार नल्याएसम्म यो राष्ट्र र जनताको समृद्धि हुँदैन भन्ने कुरा जनताले बुझिसकेका छन् । यो नै एमालले जित्ने पहिलो आधार हो ।
जनताको मनोभावनालाई बुझ्न सक्ने सिद्धान्त र संगठन एमालेसँग छ । जसलाई हामीले जित हासिलको दोस्रो आधार मानेका छौँ । अहिले गठबन्धनका नेता तथा कार्यकर्ताको मनोबल खस्केको छ, उनीहरू दिग्भ्रमित छन् जुन एमालेले जित्ने तेस्रो आधार हो । गठबन्धनको निर्णय भए पनि माओवादीका नेता कार्यकर्ताले कांग्रेसलाई कसरी भोट हाल्ने भनिरहेका छन् भने कांग्रेसकाले माओवादीलाई भोट हाल्न गाह्राे मानिरहेका छन् । यसरी नेता कार्यकताहरू नै अलमल र द्वीविधामा परेका अवस्थामा नेकपा एमाले स्पष्ट गन्तव्यसहित क्रियाशील हुनु नै एमालेले जित्ने आधार हुन् ।
नेकपा एमालले कुनै पार्टीसँग चुनावी तालमेल गर्छ कि गर्दैन ?
एमालेले कुनै दलसँग चुनावी तालमेल गरेर जाने भनेर नीतिगत रूपमा गठबन्धनको सहमति गरेको छैन । त्यस्तो गर्नु जरूरी पनि छैन र त्यसो गर्छ जस्तो मलाई लाग्दैन । तर स्थानीय तहमा त्यहाँका पार्टीका साथीहरूले चाहेको खण्डमा आवश्यकता अनुसार तालमेल गर्न सक्छन् ।
पाँच दलको गठबन्धन म मतदाता रहेको सर्लाहीको बाग्मती नगरपालिकामै लागू भएको छैन । बाग्मतीमा कांग्रेसले एमालेसँग चुनावी तालमेल गर्ने तयारी गरिरहेको छ । केन्द्रको निर्णय यहाँका कांग्रेसी नेता तथा कार्यकताहरू मान्ने पक्षमा देखिएका छैनन । बाग्मतीमा हामी पनि कांग्रेससँग तालमेल गर्न तयार छौँ भनेपछि सत्तारूढ गठबन्धनको कुनै तुक छैन । पार्टीका शीर्ष नेताहरूले माथिल्लो तहबाट गठबन्धन गरे पनि जनता र कार्यकताले त्यसलाई नमान्ने स्थिति देखापरेको छ ।
केन्द्रमा नीतिगत रूपमा केही नभएपनि हाम्रो पार्टीले तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । विजय हासिल गर्न कुन दलसँग मिल्दा राम्रो हुन्छ, त्यही दलसँग मिलेर हामी चुनावमा जान्छौँ । आवश्यकता देखिएको अवस्थामा हामी माओवादीसँग पनि चुनावी तालमेल गरेर जानसक्छौँ । नेकपा (एकिकृत समाजवादी) लाई हामीले पार्टी नै नमानेका कारण त्यो बाहेक अन्य पार्टीसँग हामी स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेर जानसक्छौँ ।
हामी आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा जनताको बीचमा जाने, स्थानीय तहको आधारमा घोषणा पत्र तयार गर्ने लगायतका कामहरूलाई अघि बढाइसकेका छौँ । एमाले नेतृत्वको स्थानीय, प्रदेश संघीय सरकार बिना मुलुकको समृद्धि हुँदैन भन्ने प्रष्ट भइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij