वेबटिभी खबर
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थामा विद्यार्थीको भौतिक वा भर्चुअल उपस्थिति गर्नेबारे निर्णय गर्न नसक्दा त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस अन्योलमा परेका छन् ।
यसअघि त्रिविले पनि मन्त्रालयस्तरीय निर्णय पर्खिरहेकोमा माथिल्लो तहबाट कुनै निर्णय नआएपछि त्रिविले आफ्ना आंगिक क्याम्पसलाई विद्यार्थी पठन-पाठनको विधि छनोट गर्ने विकल्प स्वयम् क्याम्पसलाई दिएको छ ।
यससँगै त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पठन-पाठनको विधि क्याम्पस स्वयम्ले रोज्न पाउने बाटो खुलेको छ ।
सरकारले कोरोना भाइरस अति प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि त्रिविले भने अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने निर्णय सम्बन्धित क्याम्पसलाई नै गर्न दिएको हो ।
पठन-पाठन भर्चुअल गर्ने कि भौतिक रूपमा भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित क्याम्पसलाई नै जिम्मा दिइएको शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए । त्यहीअनुसार नेपाल ल क्याम्पसले सोमबारदेखि एलएलएमका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गरेको छ ।
क्याम्पसले प्राध्यापक र विद्यार्थीमा संक्रमण जोखिमको अवस्थालाई हेरेर भौतिक वा भर्चुअल एक विधिबाट पठन-पाठन गराउने जिम्मेवारी पाएका छन् । भौतिक वा भर्चुअल कुनै पनि माध्यमबाट पठनपाठन गराउने क्याम्पसका विद्यार्थीको परीक्षा नरोकिने त्रिविले बताएको छ ।
त्रिविले आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई यस्तो बताए पनि काठमाडौं उपत्यकालगायत देशभरका क्याम्पस प्रशासनले कुन विधिबाट पठन-पाठन गराउने भन्ने निर्णय नदिँदा अध्ययनरत विद्यार्थी अन्योलमा परेका छन् ।
‘स्थानीय तहले विद्यालय सञ्चालनका लागि दिएको निर्देशन र जोखिमयुक्त सहरका विद्यालय र क्याम्पसमा पढाइ हुने विधि फरक फरक पाइएको छ । त्रिविको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागले भर्चुअल वा भौतिक कुन विधिबाट पठनपाठन गर्ने भन्ने निर्णय नदिँदा अन्योल सिर्जना भएको छ,’ त्रिविको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा स्नातकोत्तर दोस्रो सेमिस्टरमा अध्ययनरत महाराजगञ्जका नवीन पोखरेलले वेबटिभी खबरसँग भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij