वेबटिभी खबर
काठमाडौं । काठमाडौं र सुर्खेतबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका-१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका-३ बस्ने २३ वर्षीय प्रमोद कुमार मेहेता रहेका छन् । नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनीहरुको साथमा अवैध लागूऔषध भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथमा लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, लुपिजेसिक २ सय एम्पुल र नाईट्राभेट १ हजार ८ सय ५ ट्याब्लेट भेटिएको प्रहरीले जनाएको छ । यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट अवैध लागूऔषधसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१३ बस्ने २५ वर्षीय बर्ण बहादुर बोहरा र सोही नगरपालिका–१२ बस्ने २८ वर्षीय भिमा तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको कोठाबाट प्रहरीले करिब ८ ग्राम ६ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, करिब ७ ग्राम १ सय ४० मिलिग्राम सेतो हेरोईन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद १ लाख ५६ हजार १ सय २० रूपैयाँ र १ थान एटिएम कार्ड बरामद गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij