वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिका-१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ ।
वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार ३ करोड ५० लाख लगानीमा उद्यान निर्माण गरेर ११ ठाउँका करिब ५० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको वडाअध्यक्ष रामकुमार केसीले जानकारी दिएका छन् ।
नयाँबानेश्वर, छक्कुबक्कु, जोगीकुटी, संयुक्त राष्ट्रसंघीय उद्यान (युएन पार्क), सेतो गणेशस्थानसँगैको स्थललगायत ठाँउको सार्वजनिक जग्गा वडाको नेतृत्वमा संरक्षण भएको हो ।
सार्वजनिक जग्गा संरक्षणका लागि यस क्षेत्रबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सहयोग गरेको वडा कार्यालयले जनाएको छ । मन्त्री श्रेष्ठले प्रदेशसभा सदस्यका रूपमा मात्र प्रतिनिधित्व गर्दा पनि सार्वजनिक जग्गामा रोपेको मकै काटेर उद्यान निर्माण गर्ने कामको नेतृत्व गरेका थिए ।
विभिन्न विद्यालय एवं व्यक्तिले मिचेका बागमती र रुद्रमती नदी किनारका जग्गा खाली गर्न मन्त्री श्रेष्ठले आफैँ स्थलगतरूपमा खटेर सहयोग गरेका थिए । विभिन्न व्यक्ति एवं संस्थाले मिचेका करिब २० रोपनी जग्गा भने अझै संरक्षणमा ल्याउन नसकिएको वडाध्यक्ष केसीले बताए ।
ती जग्गा पनि संरक्षण गर्ने गरी वडा कार्यालयले योजना बनाइसकेको छ । संरक्षण गरिएका र गर्न बाँकी जग्गामा बनेको उद्यानलाई भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने गरी खुला स्थलका रूपमा विकास गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij