मिलन दाहाल
नेपाली कांग्रेसले स्थानीय चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेसँग पार्टी भित्र उत्पन्न असन्तुष्टिले गर्दा तालमेल कसरी होला भन्ने प्रश्न उब्जिएको छ । उम्मेदवार बन्न आकांक्षी आफूले इच्छाएको ठाउँ अर्काे पार्टीको भागमा पर्ला भन्ने चिन्तामा पनि देखिएका छन् ।
गत स्थानीय चुनावमा अन्य दलभन्दा कांग्रेसले बढी स्थानमा जितेको मधेस प्रदेशमा पनि तालमेल कसरी गर्ने भन्ने चुनाती देखिएको छ । मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये सबैभन्दा बढी ४० ठाउँमा कांग्रेसले प्रमुख पद जितेको थियो । आसन्न निर्वाचनमा त्यो भन्दा बढी सिटमा कांग्रेसले जित्ने दावी मधेस प्रदेशका कांग्रेस सभापति कृष्णप्रसाद यादवको दावी छ ।
आसन्न स्थानीय निर्वाचनमा मधेस प्रदेशमा कसरी तालमेल हुन्छ ? अन्य दलसँग कसरी समन्वय भइरहेको छ ? तालमेलका क्रममा कांग्रेसले गर्ने दावीलगायतका विषयमा मधेस प्रदेशका कांग्रेस सभापति यादवसँग वेबटिभी खबरले गरेको कुराकानीको सम्पादीत अंशः
स्थानीय निर्वाचनका लागि मधेस प्रदेशमा कांग्रेसले के–के तयारी गरिरहेको छ ?
स्थानीय निर्वाचनको तयारीका लागि कांग्रेस मधेस प्रदेशका सम्पूर्ण साथीहरुले मेहनत गरिराख्नु भएको छ । वडा तहदेखि नगरपालिकासम्मका उम्मेदवार सिफारिस गर्ने लगायत कामहरुमा अहिले सम्पूर्ण कांग्रेसका साथीहरु सक्रिय भएर लाग्नु भएको छ । त्यस्तै निर्वाचन लक्षित प्रचार प्रसारका कामहरु पनि भइरहेका छन् ।
मधेस प्रदेसमा कांग्रेसको अवस्था कस्तो छ ? मधेश प्रदेशका १३६ पालिका मध्ये यसपटक कति पालिका जित्ने अपेक्षा लिनुभएको छ ?
अन्य पार्टीहरु भन्दा मधेसमा कांग्रेसको अवस्था राम्रो छ । यसपटकको स्थानीय निर्वाचनमा हामीहरू १०० भन्दा बढी पालिकामा जित हासिल गर्ने योजना र लक्ष्यसहित लागिपरेका छौँ ।
मधेस प्रदेशमा त त्यही क्षेत्रमा राम्रो जनमत भएको जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बलियो होला नि ? त्यसका बाबजुद कांग्रेसले धेरै पालिका कसरी जित्छ ?
अहिलेको परिस्थितिलाई आंकलन गरेर हामीले १०० भन्दा बढी पालिकामा जित्ने आपेक्ष लिएका हौँ । यो अघिको निर्वाचनमा कांग्रेसले ४० वटा मात्र पालिका जितेको थियो तर धेरै पालिकाहरुमा दोस्रो भएको थियो । त्यसका कारण पहिले दोस्रो भएको स्थानहरुमा अहिले पहिलो हुने हाम्रो योजना हो । त्यसबेला धेरै स्थानका कांग्रेस कमजोर पनि थियो ।
गएको पाँच वर्षको अन्तरालमा कांग्रेसले धेरै मेहनत गरेको छ । देशको परिस्थितिले पनि अहिले कांग्रेसलाई नै साथ दिएको छ ।कांग्रेसको नेतृत्वले देशमा प्रजातन्त्र बचाएको छ । त्यसकारण पनि नेपाली कांग्रेसप्रति अहिले आम नेता कार्यकर्ताहरुको आकर्षण बढेको छ ।
गठबन्धनका साथीहरुले पनि मधेस प्रदेशसमा कांग्रेस बलियो भएको कुरालाई नर्कान सक्नु हुन्न । गठबन्धनका साथीहरुले पनि कांग्रेस बलियो भएको स्थानमा इमान्दारीता देखाउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।
नेपाली कांग्रेस अभिभावक पार्टी हो । अभिभावकले देश र आम नागरिकलाई सही बाटोमा लैजान्छ । आजसम्म देशलाई निकास दिने र प्रजातन्त्रलाई स्थायित्व दिने र प्रजातन्त्रको परिवर्तनको लागि पटक–पटक कांग्रेसले नेतृत्व गरेको छ ।
विगतका तीन वर्ष कम्युनिस्टको शासनबाट वाक्क बनेका आम नेपालीले कांग्रेसलाई नै मतदान गर्छन् भन्ने हामीलाई विश्वास छ । आम जनताको विश्वास नै कांग्रेसले जित्ने आधार हो ।
कांग्रेसले सत्ता गठबन्धन दलसँग तालमेल गरेर स्थानीय निर्वाचनमा जाने निर्णय गरेको छ । गठबन्धनका लागि कांग्रेसले पार्टीभित्र गृहकार्य गरेको छ कि छैन ?
केन्द्रले निर्णय गरेअनुसार नै हाम्रो प्रदेशमा पनि सत्तारूढ दलभित्रका अन्य पार्टीहरुसँग चुनावी तालमेल हुन्छ । त्यसका लागि विभिन्न चरणमा छलफल तथा बैठकहरु पनि भइरहेका छन् । पालिकाको आवश्यकता र औचित्यको आधारमा मधेश प्रदेशमा चुनावी तालमेल गर्न हामीहरु तयार छौँ ।
यो विषम् परिस्थितिमा बनेको गठबन्धनले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रलाई जोगाएको छ । त्यसकारण पनि अहिले गठबन्धन गर्नु अपरिहार्य छ ।
आगामी दिनहरूमा पनि यो गठबन्धनलाई निरन्तरता दिन्छौँ । स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्ने मोडालिटी बनाएका छौँ । आगामी निर्वाचनमा पनि सोही मोडालिटी अनुसार निर्वाचनमा जान्छौँ ।
मधेस प्रदेशका केही स्थानीय तहमा कांग्रेसले एमालेसँग पनि गठबन्धन गर्ने कुरा सुनिन्छ । त्यसको सम्भावना पनि छ ?
एमालेसँग गठबन्धन हुँदैन । त्यसतर्फ हामीले सोचेका पनि छैनौँ । अहिलेको अवस्थामा त्यसको सम्भावना छ जस्तो पनि मलाई लाग्दैन ।
अहिले सत्तामा रहेका पाँच दलभित्र नै गठबन्धन गर्ने तयारीमा हामी छौँ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पनि गठबन्धनभित्रका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सोहीअनुसार हामीहरु अघि बढिरहेका पनि छौँ । चुनावी तालमेलको विषयमा एमालेसँग सामान्य छलफल समेत भएको छैन ।
मधेस प्रदेशमा शक्तिका हिसाबले गठबन्धन दलहरूको क्रम कांग्रेसले कसरी छुट्याएको छ ?
सत्ता गठबन्धनका दलहरू मध्ये सबैभन्दा बलियो कांग्रेस नै भएको कुरामा कुनै द्विविधा छैन् । यसको अर्थ अन्य पार्टीहरूको अवस्था नराम्रो छ भन्ने चाहीँ हैन ।
मधेस प्रदेशमा अन्य दलको अवस्था कस्तो छ भनेर म एकिनका साथ त भन्न सक्दिन । तर कांग्रेसको अवस्था भने सबैभन्दा राम्रो छ । यहाँका युवादेखि जेष्ठ नागरिकसम्म कांग्रेसको प्रभाव देखिन्छ ।
अहिले मधेस प्रदेशका प्रत्येक जिल्लामा नेतृत्व गरिरहेको कांग्रेस नेताहरूलाई आफ्नो जिल्लाको अवस्था विश्लेषण गरेर प्रतिवेदन पठाउन जिम्मेवारी दिइएको छ ।
साथीहरुले आफ्नो जिल्लाको हरेक पालिकाको अवस्था कस्तो छ भनेर तथ्यांकसहित प्रतिवेदन बनाएर पठाउनु हुन्छ । त्यसपछि थप प्रष्ट होला ।
एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीको अवस्था चैँ कस्तो छ ?
नेकपा एमाले सिंगो हुँदा र अहिले विभाजन भएर अर्काे पार्टी बन्दाको अवस्था स्वभाविक रुपमा फेरिने नै भयो । दल विभाजनले स्वतः पहिलेको भन्दा कमजोर हुन्छ नै । तर नेकपा एकिकृत समाजवादीको संगठन पनि राम्रो देखिन्छ । कुन पालिकामा नेकपा एसको अवस्था कस्तो छ भन्ने हेरेर, विश्लेषण गरेर गठबन्धनमा ठाउँ दिन्छौँ ।
केन्द्रले गठबन्धन गर्ने निर्णय गरेकोप्रति मधेस प्रदेशमा आम कार्यकताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
गठबन्धनको किन गरियो भन्ने विषयमा कसैलाई भनिरहनु पर्ने अवस्था छैन, यसको मर्म साथीहरुले बुझ्नु भएको छ । त्यो मर्मभित्र रहेर त्यसलाई सम्मान गर्दै गठबन्धन गर्ने निर्णय भएको हो । सुत्रको हिसाबले गठबन्धन गर्नुहुँदैन । त्यसरीअघि बढ्दा प्रत्युपादक हुन सक्छ ।
हामी सम्पूर्ण ठाउँमा सतप्रतिशत जित्न सक्दैनौँ । त्यसकारण पनि गठबन्धन आवश्यक छ भन्ने कुरा प्राय सबै कार्यकर्ताहरूले बुझ्नु भएको छ ।
कांग्रेस बलियो भएको ठाउँमा एक्लै लड्ने र गठबन्धनका अन्य पार्टीहरु बलिया रहेको स्थानमा उनीहरुलाई साथ दिने कुरामा मधेस प्रदेशका कार्यताहरु लचिलो रहेको मैैले पाएको छु । गठबन्धनलाई लिएर आम कार्यकर्ताले विरोध गरेको थाहा छैन ।
मेधस प्रदेशमा जुन दलले यसअघि पालिकामा जितेको छ त्यो पालिका त्यही दलले पाउने हो ? के छ मोडालिटी ?
तपाईले भने जस्तो मोडालिटीको विषयमा अहिले छलफल भएको छैन् । गठबन्धनभित्रका पार्टीले यसअघिको चुनावमा जितेको स्थानमा उसैलाई दिने भन्दा पनि अहिले त्यहाँको अवस्था कस्तो छ ? कुन पार्टीको बाहुल्यता छ ? यी सबै कुरालाई विश्लेषण गरेर जाँदा राम्रो हुन्छ जस्तो लाग्छ ।
पहिला कांग्रेस जितेका ठाउँहरुमा अहिले पनि कांग्रेस नै बलियो छ वा माओवादीले जितेको ठाउँमा माओवादी नै बलियो छ भन्न सक्ने अवस्था रहँदैन ।
पाँच वर्षको दौरानमा धेरै परिवर्तन भएको हुनसक्छ । त्यसैले हरेक पालिकाको विश्लेषण गरेर मात्र कसरी अघि बढ्ने भन्ने निर्णय गर्दा उपयुक्त हुन्छ ।
मधेस प्रदेशमा यसरी नै जाने भनेर अहिले नै टुङ्गो भने लागेको छैन् । कुन ठाउँमा कसरी जान सकिन्छ त्यसको जिम्मा स्थानीय पालिकालाई नै दिएर त्यहाँको आवश्यकता र औचित्यको आधारमा नै गठबन्धन गर्दा उचित हुन्छ । प्रजातन्त्रालाई बचाउन बढीभन्दा बढी पालिकामा कांग्रेसले जित्नु आवश्यक छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij