वेबटिभी खबर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताएका छन् । प्रज्ञास्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथुन, २०७८ को समापन समारोहमा उनले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष दाहालले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गइरहेको पनि उनले बताए । उनले भने,‘निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र अन्य इन्डोर खेलको पूर्वाधार निर्माणले यसको सम्भावनालाई उजागार गरेको छ ।’
निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको बाँकी काम पूरा गर्नेगरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको उनले बताए । छिट्टै निर्माणकार्य सुरु हुने उनको भनाइ छ । साइकल परापूर्वकालदेखि मानव जीवनको अभिन्न अङ्गका रूपमा रहेको भन्दै उनले पछिल्ला दिनमा साइक्लिङ खेलको रूपमा समेत चितवन विकास भएको बताए ।
पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताए । उनले साइक्लिङ खेललाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि उनले बताए ।
स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धि गर्न सकिने बताए । उनले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिए ।
राष्ट्रिय सहमतिको गौरवको आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij