वेबटिभी खबर
लमजुङ । न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण सम्पन्न गरेको करिब दुई महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन ।
मर्स्याङ्दी गाउँपालिका-६ ङादीखोलाबाट गत पुसमा विद्युत् उत्पादन गरिएको थियो । उक्त बिजुली खेर गइरहेको आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ ।
प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रूपमा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ को भुलभुले-मर्स्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढेपनि सहमति जुट्न नसक्दा उक्त आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको हो ।
प्राधिकरणसँग सहमती भइसकेको अवस्थामा माथिल्लो मर्स्याङ्दी ‘ए’ को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसक्दा समस्या उत्पन्न भएको बताइएको छ । सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अमात्यले बताए ।
आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले २२० केभीको प्रसारण लाइनमा जोड्न खुदी सवस्टेशनसम्म ६ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । च्याम्पाटाको १३२ केभीसम्म पुर्याउन थप तीन किलोमिटर प्रसारण लाइन आयोजना आफैले निर्माण गरेको छ ।
निर्माणाधीन २२० केभीको प्रसारण लाइनको खुदी सवस्टेशनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । २०७३ चैतदेखि निर्माण थालनी गरेको आयोजना तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता थियो ।
पटक-पटक म्याद थपिएको उक्त आयोजनाको लागत ६ अबभन्दा बढी रहेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij