वेबटिभी खबर
तनहुँ । तनहुँमा निर्माणधीन तेह्र वटामध्ये पाँच वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । बाँकी रहेका ८ पुलको बोलपत्र पश्चात निर्माणकार्य अघि बढाइएको पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँले जनाएको हो ।
शालिकराम करिडर अन्तर्गत ऋषिङ गाउँपालिका-४ र ५ जोड्ने ज्वालाखोला पुल, ऋषिङगाउँपालिका-५ लुक्दी खोला पुल, घिरिङ गाउँपालिका-४को तिरमदी खोला पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
त्यसैगरी घिरिङ गाउँपालिका-१ पुट्टार द्रौपद पुल, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलामा निर्माणधीन अवस्थामा रहेको पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ ।
बोलपत्र भएका ८ वटा पुलको तीन वर्षको ठेक्का म्याद रहेकाले यसैवर्ष सम्झौता गरी निर्माणको चरणमा रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर घिमिरेले जानकारी दिए । पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँमार्फत निर्माणधीन अवस्थामा रहेका ५ वटा सडकको म्याद थप गरी निर्माणकार्य अघि बढाइएको उनले बताए ।
कोरोनाका कारण पटक–पटक निर्माण कार्य अवरुद्व हुँदा समय अवधिभित्र सम्पन्न गर्न नसकेका सडकको म्याद थप गरिएको हो । आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको कार्यालयका ‘साइट इन्चार्ज’ होमनाथ गौतमले जानकारी दिए ।
उनका अनुसार जिल्लाको दुलेगौँडा-हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर-डेढगाउँ मोटर मार्ग फागुनसम्म र आँबुखैरेनी-छिम्केश्वरी आगामी असोजसम्म म्याद थप गर्न लागि मन्त्रालयमा पठाइएको छ ।
त्यसैगरी दासढुंगा-देउपुर सडक आगामी असारसम्म म्याद थपको लागि प्रक्रियामा राखिएको सो कार्यालयले जनाएको छ । जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुँदै केलादीघाट कालीगण्डकी नदीको तिरैतिर स्याङ्जा, पाल्पा जोड्ने गरी शालिकराम करिडरको तीव्र गतिमा काम भइरहेको छ ।
करिब ६८ किलोमिटर सडकमध्ये दासढुंगा-देउपुरसम्म ६ किमी कालोपत्र भएको छ भने २५ किमी ग्राबेल गरिएको र बाँकी ३७ किमी ग्राबेल गर्न बाँकी रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर घिमिरेले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij