काठमाडौं । कंगोमा इटालीका राजदूत लुका अटानासिओेको हत्या भएको छ । गोमाबाट रत्सुरु जाँदै गर्दा कंगोको पूर्वी क्षेत्रमा पर्ने भिरुंगा नेशनल पार्कमा स्थानीय समयानुसार सोमबार बिहान १० बजेर १५ मिनेट जाँदा विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का सुरक्षा टोलीमाथि एम्बुस आक्रमण भएका बेला उनी पनि मारिएका हुन् । राजदूत अटानासिओ पनि डब्ल्युएफपीको टोलीसँगै जाँदै थिए ।
पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अंग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ । सुरक्षा दलका केही सदस्य घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
कंगोको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ । कंगोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ ।
घटनाका बारेमा थप विवरण संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ ।अहिलेसम्म आक्रमणको जिम्मा कुनै संगठनले लिएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij