Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

ठडियो २२ तले धरहरा [भिडियोसहित]

ठडियो २२ तले धरहरा [भिडियोसहित]

  • 278
    SHARES
  • ठडियो २२ तले धरहरा [भिडियोसहित]

    काठमाडौं । ०७२ सालको महाभूकम्पले पूर्ण क्षति पुर्याएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरु गरेको धरहरा पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

    साविक टक्सार विभागको भवन रहेको स्थानसमेतलाई समेटर ४२ रोपनी क्षेत्रफलमा २२ तले धरहरा पुनर्निर्माण जीआइईटीसी-रमण जेभीले सम्पन्न गरेको हो । 

    ‘धरहरा पुनर्निर्माणको लगभग सबै काम सम्पन्न भएको छ । रंगरोगन, वाइरिङङ, रेलिङ र दृष्यावलोकनका लागि छेउछाउमा सिसा फिटिङ गर्न बाँकी रहेको छ,’ पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए ।

    धरहराको २२ औं तलामा शिवलिङ्ग र धरहराको शिरमा सुनको गजुर स्थापना गरिएको छ । 

    महानगर, टेलिकमहुँदै प्राधिकरणसम्म

    ०७२ साल वैशाखको भूकम्पलगत्तै काठमाडौं महानगरपालिकाले धरहरा पुनर्निर्माणको जिम्मा लिएको थियो ।

    धरहरा पुनर्निर्माणको तयारी गर्दै महानगरपालिकाले धरहरावरिपरि अस्थायी संरचना बनाएर बसेका व्यावसायीलाई हटाएर सबै स्थान खुला गरेको थियो ।

    यसपछि ०७२ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ऐतिहासिक धरोहर पुनर्निर्माणमा संकल्प’ कार्यक्रममा ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेका थिए ।

    जनताको रकमबाट धरहरा निर्माण हुने सन्देश दिँदै उनले आफ्नो एक महिनाको तलब ६१ हजार ८ सय २० रुपैयाँ पुनर्निर्माण कोषको खातामा जम्मा गरेर प्रवासी नेपालीसँगसमेत सहयोगको अपेक्षा गरेका थिए । 

    यसका लागि नेपाल टेलिकमले ३ अर्ब रुपैयाँ लगानी गर्न तयार भएको थियो । 

    ०७५ असारमै नेपाल टेलिकमले धरहरा पुनर्निर्माण गर्ने योजनासहित डिजाइनसमेत तयार पारेको थियो । तर सम्पदाप्रेमीले धरहरामा टेलिकमले व्यापारीक कम्पलेक्स बनाउने खोजेको भन्दै विरोध गरेपछि धरहरा पुनर्निर्माण रोकियो ।

    स्थानीय तहको निर्वाचनपछि काठमाडौं महानगरपालिकामा निर्वाचित मेयर विद्यासुन्दर शाक्यले धरहरा पुनर्निर्माणलाई आफ्नो प्रमुख कार्ययोजना बनाएका थिए ।  तर स्थानीयको विरोध र संघीय सरकारको सहयोग पाउन नसकेको भन्दै महानगरपालिका धरहरा पुनर्निर्माणमा कमजोर सावित भएको थियो । 

    महानगरपालिकाले गरेको काम परिणाममुखी नदेखिएको ठहर गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसको पुनर्निर्माणमा हस्तक्षेपकारी कदम चाल्दै काम सुरु गरेको थियो ।  प्राधिकरणले धरहरा पुनर्निर्माण गर्ने तय भएपछि प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ पुस १२ गते धरहराको शिलान्यास गरेका थिए । 

    कोरोनाका कारण ढिलाइ 

    कोरोना संक्रमणका कारण गतवर्ष लकडाउन भएकाले धरहरा पुनर्निर्माण ढिलाइ भएको जीआईईटीसी-रमन जेभीले बताएको छ । 

    लकडाउन भएपछि केही कामदार काठमाडौं छोडेर विभिन्न जिल्ला फर्किएपछि कामदारको पुनः नियुक्तिको प्रक्रियाले केही समय ढिलाइ भएको कम्पनीको भनाइ छ ।

    ‘कोरोना महाकारीका कारण धरहरा पुनर्निर्माणका क्रमम केही ढिलाइ हुन गयो । प्रधानमन्त्रीले ११ गते उद्घाटनको मितिसम्म यसको लगभग सम्पूर्ण काम पुरा भइसक्नेछ,’ कम्पनीका प्रमुख रमन महतोले भने, ‘सम्झौता अनुसार समयमा नै धरहराको पुनर्निर्माण सम्पन्न हुन्छ ।’

    के-के रहन्छ धरहरामा ?

    धरहरामा ट्रिपल बेसमेन्टसहितको पार्किङस्थल हुनेछ । पार्किङ स्थलमा ३ सय ४७ वटा चारचक्के सवारी साधन र ७ सय ५० वटा मोटरसाइकल अट्ने क्षेत्रफल हुने मानन्धरले जानकारी दिए ।

    त्यसभन्दा माथि ग्राउण्ड फ्लोरमा धरहरा अवलोकनमा आएका सर्वसाधारणलाई आराम गर्न मिल्ने बस्ने ठाउँ रहने उनले बताए । जसमा वाटर फाउन्टेन र बगैंचासमेत हुने छ ।

    यहाँ नेपालका प्राचीन, मौलिक र परम्परागत कलाकृति र वास्तुकला प्रदर्शन गरिने छ । धरहराकै छेउमा रहेको नेपाल राष्ट्र बैंकको टक्सार विभागको भवन रहेको स्थानमा भुकम्प संग्रहालय निर्माण हुने छ ।

    ०७२ सालको भुकम्पले टक्सार विभाग भवनमा समेत क्षति पुर्याएपछि हाल बबरमहलमा सारिएको छ । टक्सार विभाग रहेको धरहरा छेउकै सो स्थानमा प्राधिकरणले भूकम्प संग्रहालय निर्माण गर्ने भएको हो । 

    जसमा नेपालमा हालसम्म भूकम्पले क्षति पुर्याएका स्थानका वभिन्न तस्बिर, लिखत र भग्नावशेषमा भेटिएका महत्वपूर्ण अभिलेख र वास्तुकलाको प्रदर्शन गरिने छ ।

    मंसीरदेखि सबैका लागि खुला

    धरहरा पुनर्निर्माणको सम्पुर्ण काम सकिए पनि सर्वसाधारणका लागि आगामी मंसीरदेखि खुला गरिने प्राधिकरणले बताएको छ । बालबालिका, वृद्धवृद्धालगायत सबैका लागि सहज हुने गरी यसको डिजाइन र पुनर्निर्माण गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

    धरहरा अवलोकनका लागि सर्वसाधारणबाट कति रकम उठाउने र सर्वसाधारणलाई कसरी व्यवस्थापन गरिने भन्नेबारे अहिले नै पूर्णयोजना तयार भइनसकेको घिमिरेले बताए ।

    काठमाडौं महानगरपालिकाको क्षेत्रभित्र रहेकाले यसको व्यवस्थापन महानगरपालिकाले गर्नसक्ने सम्भावना रहेको महानगरपालिकाका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले जानकारी दिए ।

    ‘अहिले धरहरा पूर्ण रुपमा पुनर्निर्मित भइसकेको छैन । निर्माण कम्पनीले धरहरा र भूकम्प संग्रहालयको दुईवटा प्याकेजमा ठेक्का लिएको हो,’ थपाले वेबटिभी खबरसँग भने, ‘संग्रहालय र धरहरा बनिसकेपछि दुईवटै संरचना महानगरपालिकाले व्यास्थापन गर्न पनि सक्छ । यसबारे महानगरलाई जानकारी आइसकेको छैन ।’

    तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको समयमा धरहरा निर्माण गरिएको थियो । सुरुमा ११ तलाको रहेकोमा १९९० सालको भूकम्पबाट नवौं र दसौं तला भत्केकेको थियो ।
    ०७२ साल वैशाख १२ गतेको भूकम्पबाट ९ तलाको धरहरामा पूर्ण रुपमा क्षति पुगेको थियो ।

  • सम्बन्धित विषय:

  • # धरहरा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology