Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पोल गाडेर तार झुण्ड्याएको तीन वर्षमा पनि बल्न सकेन बत्ती

पोल गाडेर तार झुण्ड्याएको तीन वर्षमा पनि बल्न सकेन बत्ती

  • 503
    SHARES
  • पोल गाडेर तार झुण्ड्याएको तीन वर्षमा पनि बल्न सकेन बत्ती

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-२ रूममा विद्युतका पोल गाडेर तार झुण्ड्याएको तीन वर्ष बित्तिसक्दा पनि अहिलेसम्म बत्ती बल्न सकेको छैनन् । नेपाल विद्युत् प्राधिकरणले रूममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बत्ती बल्न नसकेको हो ।

    प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुंगा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुंगा सबस्टेशन र आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०१६मा आयोजना सुरु गरेको थियो ।

    रूमका नन्दबहादुर घर्तीमगरले पोल गाडेको तीन वर्ष र ट्रान्सफर्मर राखेको दुई वर्ष भए पनि अहिलेसम्म बिजुली नबलेकाे बताए । ‘विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, फर्निचरलगायत उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भएको छ’, उनले भने, ‘लघु जलविद्युतको बिजुलीको भरमा छौं ।’

    ५ सय घरधुरी रहेको मालिका-२ रूममा पोल गाडेको, तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नगरेकाे वडाध्यक्ष नरबहादुर पुनले बताए । मालिका गाउँपालिका-१ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बासबोट, छिस, भट्टखोला, घोर्सीका ३ सय घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझै नगाडेको खहरेका रनबहादुर पुनले बताए ।

    ‘सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्’, उनले भने, ‘पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबिसी केबुल आए पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन ।’ डेढ सय घरधुरी भएको मालिका-६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्ने काम भइरहेको स्थानीयवासी ओमकार रोकाले बताए ।

    तीनवटै बस्तीका बासिन्दा लघु जलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताए ।

    नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जीनियरिङले करिब ८ करोडमा २०१६ मा ठेक्का लिएको सबस्टेशन, मिलनचोकबाट २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो ।

    नेपाल विद्युत प्राधिकरणअन्तर्गतको सम्बद्व आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सबस्टेशन, प्रसारण लाइन र तीनवटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका-१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताए ।

    २० किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सबस्टेशनबाट तीनवटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ ।

    म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन रातोढुंगा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए ।

    रातोढुंगा सबस्टेशन आयोजनाका इञ्जीनियर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताए । ‘ठेकेदारलाई धेरैपटक ताकेता गरेर काममा फर्काएका छौं’, उनले भने, ‘बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौं ।’

  • सम्बन्धित विषय:

  • # बत्ती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij