वेबटिभी खबर
काठमाडौं । चना खानु स्वास्थ्यका हिसाबले फाइदाजनक मानिन्छ । चनामा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ, जुन तपाईको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । चनालाई विभिन्न तरिकाले खान सकिन्छ । भिजाएर, तरकारीको रूपमा, बिहानको डाइटको रूपमा चना खाँदा स्वास्थ्यका लागि धेरै फाइदा पुग्छ ।
आहारविद्हरूका अनुसार चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्त्वपूर्ण हुन्छ । आज हामी चना खाँदा शरीरमा हुने फाइदाका बारेमा कुरा गर्दैछौं ।
रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ । चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम लगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् । चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डाइबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।
एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डाइबेटिज हुन पाउँदैन । चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ । रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पथरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पथरीको समस्या देखा परिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।
चनाको पिठोको रोटी खानाले पेट सफा रहन्छ । रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । बाडुली लागेर हैरान भएको बेला चनाको सुकेको पातको धुवाँ लिनाले बाडुली रोकिन्छ ।
चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ । नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि हराएर जान्छन् । पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij